गाैमुल खबर डटकम मङ्गलबार ०९, भदौ २०८३ ०१:१४

बाढी पहिरोले घरबार जोखिममा परेका १२९ परिवारलाई १७ लाखको राहत

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, भदौ ०८, २०८३
बाढी पहिरोले घरबार जोखिममा परेका १२९ परिवारलाई १७ लाखको राहत

बाजुरा ःबाढी पहिरोबाट प्रभावित बडीमालिका नगरपालिका र गौमुल गाउँपालिकाका १२९ परिवारलाई राहत सामग्री वितरण गरिएको छ । प्लान इन्टरनेशनल नेपाल, पीसविन नेपाल र महिला विकास मञ्च, बाजुराको सहकार्यमा स्थानीय तहको क्षति तथा जोखिम मूल्याङ्कन र सिफारिसका आधारमा प्रभावित परिवारलाई राहत सामग्री उपलब्ध गराइएको हो ।

पीसविन नेपालका परियोजना संयोजक पदम कठायतका अनुसार राहत पाउने परिवार मध्ये बडीमालिका नगरपालिकाका ८३ र गौमुल गाउँपालिकाका ४६ परिवार रहेका छन् । तीमध्ये १४ परिवारका घर पूर्ण रुपमा क्षति भएका छन् भने ११५ परिवार बाढी पहिरोका कारण उच्च जोखिममा रहेका छन् ।

घर पूर्ण रुपमा क्षति भएका १४ परिवारलाई प्रतिपरिवार ८ हजार ८६९ रुपैयाँ १४ पैसा बराबरको गैरखाद्य जीवन रक्षक सामग्री (एनएफआई) किट, १ हजार ७६८ रुपैयाँ ७७ पैसा बराबरको किचेन सेट तथा ४ हजार ५४६ रुपैयाँ १६ पैसा बराबरको मर्यादित सामग्री उपलब्ध गराइएको छ ।

त्यस्तै, उच्च जोखिममा रहेका ७७ परिवारलाई प्रति परिवार एनएफआई किट र मर्यादित सामग्री तथा थप ३८ परिवारलाई एनएफआई किट र स्वच्छता सामग्री वितरण गरिएको जनाइएको छ ।

एनएफआई किटमा त्रिपाल दुई थान, फ्लिस कम्बल दुई थान, पी-फोम गद्दा दुई थान र सोलार बत्ती एक थान रहेका छन् । मर्यादित सामग्रीमा साबुन, डिटर्जेन्ट, कपडा, स्वेटर, सल, महिनावारी प्याड, तौलिया, टर्च लाइट, टुथपेस्ट, टुथब्रस लगायत दैनिक जीवनमा आवश्यक सामग्री समावेश छन् ।

पूर्ण रुपमा घर क्षति भएका परिवारका लागि खाना पकाउने तथा खाने सामग्री सहितको किचेन सेट समेत उपलब्ध गराइएको छ । किचेन सेटमा विभिन्न आकारका डेक्ची, डिनर प्लेट, कचौरा, गिलास, डाडु र पन्यू लगायत सामग्री रहेका छन् ।

त्यसैगरी, स्वच्छता सामग्री आवश्यक भएका परिवारलाई साबुन, महिनावारी प्याड, तौलिया, टुथपेस्ट, टुथब्रस, बाल्टी, पानी शुद्धीकरण गर्ने क्लोरिन ट्याब्लेट, मग तथा कपडा छान्ने फिल्टर लगायत सामग्री वितरण गरिएको छ ।

राहत अन्तर्गत कुल १७ लाख १ हजार १९५ रुपैयाँ ६० पैसा बराबरका सामग्री प्रभावित परिवारसम्म पुर्‍याइएको आयोजक संस्थाले जनाएको छ । विपद्का कारण घर तथा दैनिक उपभोग्य सामग्रीमा क्षति पुगेका परिवारलाई लक्षित गरी गरिएको सहयोगले तत्कालीन आवश्यकता पूरा गर्न तथा दैनिक जीवन केही सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

राहत वितरण कार्यक्रममा सहभागी गौमुल गाउँपालिकाकी उपाध्यक्ष सीता थापाले विपद्को कठिन अवस्थामा प्रभावित परिवारलाई आवश्यक राहत सामग्री उपलब्ध गराएकोमा प्लान इन्टरनेशनल नेपाल, पीसविन नेपाल र महिला विकास मञ्च, बाजुराप्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले प्राप्त राहत सामग्रीले विपद्पीडित परिवारको दैनिक जीवन सहज बनाउन महत्वपूर्ण सहयोग पुगेको बताउनुभयो ।

प्रतिक्रिया