गाैमुल खबर डटकम मङ्गलबार ०९, भदौ २०८३ ०१:१६

जमराको टोकरी शिरमा, बाजागाजाको गुञ्जनसँगै बडीमालिकातर्फ लाग्यो सरकारी टोली

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, भदौ ०८, २०८३
जमराको टोकरी शिरमा, बाजागाजाको गुञ्जनसँगै बडीमालिकातर्फ लाग्यो सरकारी टोली

बाजुरा ःधार्मिक तथा पर्यटकीय दृष्टिले प्रसिद्ध बाजुराको बडीमालिका मन्दिरमा हुने मुख्य पूजाका लागि बाजुराको सरकारी टोली पूजा सामग्री सहित सोमबार बडीमालिकातर्फ प्रस्थान गरेको छ ।

सदरमुकाम मार्तडीस्थित मालिका मन्दिरमा पूजाआजा गरेपछि सरकारी टोलीलाई सुरक्षाकर्मीको सलामी, बाजागाजा र फूलमाला सहित बिदाइ गरिएको हो । पञ्चकन्या तथा महिलाले जमराको टोकरी शिरमा राखेर टोलीको बिदाइ गरेका थिए ।

बडीमालिका नगरपालिकाका प्रमुख अमरबहादुर खड्का, उपप्रमुख नन्दा थापा, जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक शैलेश्वरी बोहराल गायतको एकीकृत सरकारी टोली बडीमालिकातर्फ प्रस्थान गरेको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए ।

देशका विभिन्न जिल्लाका साथै छिमेकी मुलुक भारतबाट समेत भक्तजन केही दिन अघिदेखि बडीमालिका र बुढीनन्दातर्फ जान थाले पनि सरकारी तथा औपचारिक यात्रा भने सोमबारबाट सुरु भएको हो । बुढीनन्दातर्फ जिल्लाको सरकारी टोली यस अघि नै प्रस्थान गरिसकेको छ ।

प्रमुख जिल्ला अधिकारी निरौलाका अनुसार जिल्ला प्रहरी प्रमुखको नेतृत्वमा समेत टोली बडीमालिका पुगेकाले त्यहाँको सुरक्षा व्यवस्था थप प्रभावकारी बनाइएको छ । सरकारी टोली बडीमालिका प्रस्थान गरेको अवसरमा बडीमालिका नगरपालिकाले सोमबार सार्वजनिक बिदा समेत दिएको छ ।

नगरप्रमुख खड्काका अनुसार सरकारी टोली पहिलो दिन सोता पाटन, दोस्रो दिन त्रिवेणी पाटन हुँदै तेस्रो दिन बडीमालिका मन्दिर पुग्नेछ । बडीमालिका र बुढीनन्दा दिदी बहिनीका रुपमा पूजिने धार्मिक मान्यता अनुसार दुवै शक्तिपीठमा जनैपूर्णिमाको अघिल्लो दिन अर्थात् भदौ ११ गते मुख्य पूजा हुने परम्परा छ ।

भक्तजनको चाप बढ्दै गएपछि एकैदिन सबैलाई पूजा गर्न कठिन हुने भएकाले यस वर्ष भदौ १ गतेदेखि नै बडीमालिकामा पूजा सुरु गरिएको नगर प्रमुख खड्काले बताएका छन् ।

धार्मिक विश्वास अनुसार सत्ययुगमा भगवान् शिवले सतीदेवीको शरीर बोकेर संसारभर घुमाउने क्रममा बडीमालिका क्षेत्रमा शरीरको अंग खसेको र सोही स्थानमा देवीको पुनः अवतार भएको मानिन्छ । यही धार्मिक आस्थाका कारण बडीमालिका माताको दर्शन तथा पूजापाठ गरे मनोकाङक्षा पूरा हुने जनविश्वास रहेकाे छ ।

बडीमालिका क्षेत्रमा २२ आकर्षक पाटन, खेतीबेती, त्रिवेणी धाम लगायत धार्मिक तथा पर्यटकीय स्थल रहेका छन् । धार्मिक पूजा आराधनासँगै प्राकृतिक सौन्दर्यको अवलोकन गर्न समेत देशका विभिन्न स्थानबाट तीर्थयात्री तथा पर्यटक बडीमालिका पुग्ने गरेका छन् ।

May be an image of clarinet

यस वर्ष विगतका तुलनामा बडीमालिका दर्शन गर्न आउने भक्तजनको सङ्ख्या अझै बढ्ने अनुमान गरिएको छ । बडीमालिका पूजाका लागि डोटी, जुम्ला, कालिकोट तथा कैलालीको धनगढी उपमहानगरपालिकाबाट सरकारी टोली यसअघि नै प्रस्थान गरिसकेको छ । सुदूरपश्चिम प्रदेश सरकारले पनि पूजा सामग्री सहित सरकारी टोली पठाइसकेको छ ।

बडीमालिका मन्दिर समुद्री सतहबाट करिब ४ हजार २ सय मिटर उचाइमा अवस्थित छ । यस वर्ष तीर्थयात्रीको सहजताका लागि बडीमालिका क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा विस्तार गर्ने उद्देश्यले नेपाल टेलिकमको फोरजी टावर जडान गरिएकाे छ ।

बाजुराका प्रमुख धार्मिक शक्तिपीठ बडीमालिका र बुढीनन्दामा हरेक वर्ष देशका विभिन्न स्थान तथा भारतबाट समेत ठूलो सङ्ख्यामा श्रद्धालु पुग्ने गरेका छन् । आस्था, धार्मिक परम्परा र प्राकृतिक सौन्दर्यको संगमका रुपमा रहेको बडीमालिकाको यस वर्षको यात्रा अझै भव्य बन्ने अपेक्षा गरिएको छ ।

May be an image of one or more people and crowd

प्रतिक्रिया