बाजुरा ःभाद्र १ गतेदेखि सुरु भएको यस वर्षको बडीमालिका विशेष पूजा भाद्र ११ गते श्रावण शुक्ल चतुर्दशीका दिन मुख्य पूजासँगै सम्पन्न हुने भएको छ। भाद्र १२ गते जनैपूर्णिमाका दिन नाटेश्वरी मन्दिरमा हुने पूजा तथा मेलासँगै यस धार्मिक यात्राको विधिगत समापन हुनेछ।
बडीमालिका मुख्य पूजाको समय नजिकिँदै गर्दा वर्षायाममा हुने जोखिम र उच्च हिमाली भू-भागको कठिन यात्रालाई मध्यनजर गर्दै बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले तीर्थयात्री तथा भक्तजनलाई विशेष सावधानी अपनाउन आग्रह गर्नुभएको छ।
प्रमुख जिल्ला अधिकारी निरौलाले सामाजिक सञ्जाल फेसबुक मार्फत बडीमालिका यात्राका क्रममा ४ हजार २ सय मिटर भन्दा बढी उचाइमा पुग्नुपर्ने भएकाले बाटोमा चिप्लिने, लड्ने तथा लेक लाग्ने जस्ता समस्या आउन सक्ने बताउनुभएको छ। वर्षाका कारण बाटो चिप्लो हुने भएकाले यात्रुहरूलाई यात्रा गर्दा आवश्यक सतर्कता अपनाउन उहाँले आग्रह गर्नुभएको हो।
यात्राका क्रममा स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएमा त्रिवेणी पाटन तथा बडीमालिका मन्दिर क्षेत्रमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी बल तथा बडीमालिका र त्रिवेणी नगरपालिकाले खटाएका मेडिकल टोलीसँग तत्काल सम्पर्क गर्न अनुरोध गरिएको छ।
त्यस्तै, सम्भावित जोखिम न्यूनीकरणका लागि एक्लै यात्रा नगरी समूहमा यात्रा गर्न प्रमुख जिल्ला अधिकारी निरौलाले सुझाव दिनुभएको छ। यात्राका क्रममा कुनै समस्या वा आपत्कालीन अवस्था आइपरेमा नजिकै रहेका सुरक्षाकर्मी तथा खटिएका प्रहरी कर्मचारीसँग सम्पर्क गर्न समेत उहाँले आग्रह गर्नुभएको छ।
बडीमालिका मुख्य पूजाका लागि देशका विभिन्न स्थानबाट ठूलो संख्यामा भक्तजन तथा तीर्थयात्री बाजुरा पुगिरहेका बेला प्रशासनले स्वास्थ्य, सुरक्षा र मौसमजन्य जोखिमलाई ध्यानमा राखेर सुरक्षित यात्रालाई प्राथमिकता दिन आग्रह गरेको हो।





प्रतिक्रिया