गाैमुल खबर डटकम आइतबार ०७, भदौ २०८३ ०४:१९

बडीमालिका पूजाका लागि धनगढीको सरकारी टोली बाजुरा आइपुग्यो, नगरपालिकाद्वारा स्वागत

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शनिबार, भदौ ०६, २०८३
बडीमालिका पूजाका लागि धनगढीको सरकारी टोली बाजुरा आइपुग्यो, नगरपालिकाद्वारा स्वागत

बाजुरा ः बाजुराको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल बडीमालिका मन्दिरमा हुने पूजाका लागि कैलालीको धनगढी उपमहानगरपालिकाबाट आएको सरकारी टोलीलाई बाजुरामा स्वागत गरिएको छ।

शनिबार बिहान सदरमुकाम मार्तडी पुगेको टोलीलाई बडीमालिका नगरपालिकाले औपचारिक कार्यक्रम आयोजना गरी स्वागत गरेको हो।

स्वागत कार्यक्रममा धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले बडीमालिकासहित सुदूरपश्चिम प्रदेशका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार, संरक्षण र संवर्द्धन लागि सबै स्थानीय तह एकजुट हुनुपर्नेमा जोड दिए।

नगर प्रमुख हमालले धनगढीको जेनजी मार्गमा ठूलो डिजिटल डिस्प्ले बोर्ड जडान गरिएको र त्यसमा हरेक साँझ सुदूरपश्चिमका धार्मिक, पर्यटकीय तथा सम्भावनायुक्त क्षेत्रको प्रचार सामग्री प्रदर्शन गर्ने तयारी भइरहेको बताए।

“धनगढी आउने मानिसलाई सुदूरपश्चिम कस्तो छ भन्ने पहिचान गराउने हाम्रो उद्देश्य हो,” उनले भने। उनले बडीमालिका लगायतका क्षेत्रका भिडियो तथा प्रचार सामग्री उपलब्ध गराउन स्थानीय तह र सञ्चारकर्मीलाई आग्रह समेत गरे।

कार्यक्रममा बडीमालिका नगरपालिकाका नगर प्रमुख अमरबहादुर खड्काले धनगढी उपमहानगरपालिकाले अघि सारेको ‘हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानले प्रदेशको आर्थिक, सामाजिक, सांस्कृतिक तथा भौगोलिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

धनगढी उपमहानगरपालिकाले धार्मिक, पर्यटकीय तथा सांस्कृतिक परम्परासँग जोडिएको बडीमालिका तीर्थयात्रालाई गत वर्षदेखि निरन्तरता दिँदै आएको छ। सोही क्रममा यस वर्ष पनि सरकारी टोली बडीमालिका पूजाका लागि बाजुरा पठाइएको हो। टोली शनिबार नै सदरमुकाम मार्तडीबाट बडीमालिकातर्फ प्रस्थान गरेको छ।

बडीमालिका मेला नजिकिएसँगै सदरमुकाम मार्तडी हुँदै बडीमालिका दर्शन तथा पूजाका लागि जाने भक्तजनको संख्या दिनप्रतिदिन बढ्दै गएको छ। अहिले दैनिक सयौं दर्शनार्थी बडीमालिकातर्फ जाने गरेका छन्।

बडीमालिका पूजाका लागि डोटी, जुम्ला, कालिकोट र धनगढीबाट सरकारी टोली बडीमालिकातर्फ प्रस्थान गरिसकेका छन्। बाजुराबाट भने भदौ ८ गते सोमबार सरकारी टोली सहित पूजाका लागि प्रस्थान गरिने नगर प्रमुख खड्काले बताए। सदरमुकाम मार्तडीबाट बडीमालिका मन्दिर पुग्न कम्तीमा तीन दिन पैदल यात्रा गर्नुपर्छ।

समुद्री सतहबाट करिब ४ हजार २ सय मिटर उचाइमा रहेको बडीमालिका मन्दिरमा हरेक वर्ष जनैपूर्णिमाको अघिल्लो दिन अर्थात् साउन शुक्ल चतुर्दशीका दिन मुख्य पूजा हुने परम्परा छ।

यस वर्ष भने मुख्य पूजा भदौ ११ गते हुने भए पनि एकै दिन अत्यधिक भीड हुन सक्ने भएकाले भदौ १ गतेदेखि नै पूजाआजा तथा दर्शनको क्रम सुरु गरिएको छ।

बडीमालिका क्षेत्रको धार्मिक महत्त्वसँगै प्राकृतिक सौन्दर्य र पर्यटन सम्भावनालाई प्रचारप्रसार गर्ने उद्देश्यले विभिन्न जिल्लाबाट सरकारी टोली तथा भक्तजन बडीमालिका पुग्ने क्रम जारी रहेकाे छ।

प्रतिक्रिया