बाजुरा ः बाजुरा जिल्लाका विभिन्न स्थानमा रहेका ब्रह्म देवताका मन्दिरमा शुक्रबार विशेष पूजा-अर्चना तथा दर्शन हुने भएको छ। परम्परागत धार्मिक मान्यता अनुसार जिल्लाका विभिन्न बस्तीमा रहेका ब्रह्म देवताका मन्दिरमा एकै समयमा पूजा लाग्ने भएकाले स्थानीय तहका गाउँ-गाउँमा धार्मिक चहलपहल बढ्ने भएको हो।
स्थानीयबासीका अनुसार गौमुल गाउँपालिकाका विभिन्न स्थानमा रहेका ब्रह्म देवताका मन्दिरमा समेत शुक्रबार विशेष पूजा-अर्चना गरिनेछ। पूजा कार्यक्रममा स्थानीय श्रद्धालुहरु बिहानैदेखि मन्दिरमा पुगेर दर्शन गर्ने, पूजाआजा गर्ने तथा प्रसाद चढाउने तयारीमा रहेका छन्।
बाजुरामा देवी-देवताप्रतिको आस्था पुस्तौँदेखि स्थानीय जीवन, संस्कार र संस्कृतिसँग जोडिएको छ। यहाँका विभिन्न धार्मिक स्थलमा विशेष तिथि तथा अवसरमा सामूहिक रुपमा पूजा गर्ने, भोग चढाउने र दर्शन गर्ने परम्परा रहिआएको छ। जिल्लाका विभिन्न शक्तिपीठमा एकैदिन पूजा लाग्ने धार्मिक परम्परा समेत रहेको उल्लेख विभिन्न स्रोतमा पाइन्छ।
ब्रह्म देवताको पूजा स्थानीय धार्मिक आस्थासँगै मौलिक संस्कृति र सामाजिक एकताको पक्षसँग पनि जोडिएको स्थानीय संस्कृतिका जानकार चन्द्रबहादुर राेकायाले बताएका छन् ।
गाउँमा रहेका मन्दिरमा पूजा लाग्ने दिन टाढा रहेका आफन्त तथा गाउँबाहिर रहेका स्थानीय समेत घर फर्किने भएकाले यस्तो अवसरले पारिवारिक तथा सामाजिक भेटघाटको वातावरण समेत बनाउने गर्दछ।
स्थानीय धार्मिक विश्वास अनुसार ब्रह्म देवताको पूजा-अर्चना गर्दा परिवारमा सुख-शान्ति, समृद्धि र आपसी सद्भाव कायम हुने विश्वास गरिन्छ। मनोकामना पूरा होस् भन्ने कामना सहित श्रद्धालुहरुले पूजा, धूप-दीप, प्रसाद तथा भोग चढाउने परम्परा पनि रहिआएको छ।
बाजुराको धार्मिक पहिचान बडीमालिका लगायत विभिन्न शक्तिपीठ र स्थानीय देवी-देवताका मन्दिरसँग जोडिएको छ। पछिल्लो समय जिल्लाका धार्मिक स्थलमा पूजा तथा दर्शनका लागि आउने श्रद्धालुको संख्या बढ्दै गएको देखिन्छ। बडीमालिका मन्दिरमा समेत यस वर्ष दर्शनार्थीको चाप व्यवस्थापन गर्न मुख्य पूजा अघि नै पूजा सुरु गर्ने तयारी गरिएको छ।
शुक्रबार हुने ब्रह्म देवताको विशेष पूजाले बाजुराको मौलिक धार्मिक परम्परा, सांस्कृतिक पहिचान र पुस्तौँदेखि चलिआएको स्थानीय आस्थालाई पुनः उजागर गर्ने अपेक्षा गरिएको छ।





प्रतिक्रिया