बाजुरा ः गौमुल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले गाउँपालिकाको भौगोलिक विकटतालाई ध्यानमा राख्दै मालिवन र घट्मुनाबाट नियमित स्वास्थ्य सेवा प्रवाह गरिने बताएका छन्।
गौमुल गाउँपालिका-२ मालिवनमा सञ्चालनमा आएको १० शैयाको अस्पताल उद्घाटनपछि सम्बोधन गर्दै अध्यक्ष रोकायाले मालिवनबाट साताको ५ दिन र घट्मुनाबाट २ दिन स्वास्थ्य सेवा प्रदान गर्ने व्यवस्था मिलाइने बताएका हुन्।
भौगोलिक दूरी र विकटताका कारण नागरिकलाई स्वास्थ्य सेवा लिन टाढा जानुपर्ने अवस्थालाई अन्त्य गर्ने उद्देश्यले दुई स्थानबाट सेवा प्रवाह गर्न लागिएको उनले बताए। “सबै क्षेत्रको सन्तुलन मिलाउने गरी दुईवटा स्थानबाट स्वास्थ्य सेवा प्रदान गर्छौं,” अध्यक्ष रोकायाले भने।
उनका अनुसार गाउँपालिकाका प्रत्येक वडामा आधारभूत स्वास्थ्य केन्द्र मार्फत समेत स्वास्थ्य सेवा सञ्चालन भइरहेको छ। अस्पताल तथा स्वास्थ्य केन्द्रको सेवा विस्तार गर्दै स्वास्थ्य सेवालाई नागरिकको घरदैलोमै पुर्याउने गाउँपालिकाको लक्ष्य रहेको अध्यक्ष रोकायाले बताए।
१० शैयाको अस्पताल सञ्चालनमा आएसँगै स्थानीय नागरिकले सामान्य उपचार तथा स्वास्थ्य सेवाका लागि टाढाका स्वास्थ्य संस्थामा जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।
गाउँपालिकाले उपलब्ध स्रोत साधनको अधिकतम उपयोग गर्दै सबै क्षेत्रका नागरिकलाई सहज, नियमित र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने जनाएको छ।





प्रतिक्रिया