गाैमुल खबर डटकम बुधबार ०३, भदौ २०८३ ०७:५२

गौमुलमा १० शैयाको अस्पताल सञ्चालनमा, अब दुर्गमका नागरिकलाई गाउँमै स्वास्थ्य सेवा

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, भदौ ०३, २०८३
गौमुलमा १० शैयाको अस्पताल सञ्चालनमा, अब दुर्गमका नागरिकलाई गाउँमै स्वास्थ्य सेवा

बाजुरा ःबाजुराको गौमुल गाउँपालिकामा १० शैयाको अस्पताल सञ्चालनमा आएको छ । गौमुल गाउँपालिका-२ मालिवनमा निर्माण गरिएको अस्पताल बुधबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको हो ।

अस्पतालको औपचारिक उद्घाटन गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले रिबन काटेर गरेका हुन् । अस्पताल सञ्चालनमा आएसँगै दुर्गम तथा ग्रामीण क्षेत्रका नागरिकले सामान्य स्वास्थ्य उपचारका लागि टाढा सदरमुकाम तथा अन्य ठाउँमा धाउनुपर्ने बाध्यता केही हदसम्म अन्त्य हुने अपेक्षा गरिएको छ ।

अस्पताल उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सीता थापा, वडा अध्यक्षहरु देवबहादुर रोकाया, अमर विक, गोरख बोहरा, देवेन्द्र रोकाया लगायत जनप्रतिनिधि, कर्मचारी तथा स्थानीय नागरिकको सहभागिता रहेको थियो ।

लामो समयदेखि आधारभूत स्वास्थ्य सेवाका लागि विभिन्न समस्या झेल्दै आएका गौमुलबासीका लागि १० शैयाको अस्पताल सञ्चालनमा आउनु महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ । स्थानीय तहको केन्द्र भन्दा टाढा रहेका बस्तीका नागरिकले अब गाउँमै स्वास्थ्य परीक्षण तथा उपचारको सुविधा पाउने भएका छन् ।

विशेषगरी बिरामी, ज्येष्ठ नागरिक, महिला तथा बालबालिकालाई सामान्य उपचारका लागि समेत लामो दूरीको यात्रा गर्नुपर्ने बाध्यता रहेकामा अस्पताल सञ्चालनले स्वास्थ्य सेवामा पहुँच सहज बनाउने विश्वास गरिएको छ ।

गौमुलमा अस्पताल सञ्चालनमा आएसँगै ‘दुर्गमका नागरिकको स्वास्थ्य अधिकार गाउँमै’ भन्ने उद्देश्यलाई थप बल पुगेको स्थानीयको भनाइ छ ।

अस्पताललाई प्रभावकारी रुपमा सञ्चालन गर्दै आवश्यक स्वास्थ्य सेवा, जनशक्ति र उपकरणको व्यवस्थापन गर्न सके यस क्षेत्रका नागरिकका लागि ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया