बाजुरा ःबाजुराका दुई स्थानीय तहमा सरकारले नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सोमबारको निर्णय अनुसार बुढीगंगा नगरपालिकामा उपसचिव चोमेन्द्र न्यौपाने र जगन्नाथ गाउँपालिकामा शाखा अधिकृत नारायण पन्थीलाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइएको हो।
गृह मन्त्रालय अन्तर्गत कारागार व्यवस्थापन विभागमा कार्यरत उपसचिव न्यौपानेलाई बुढीगंगा नगरपालिकामा तथा कारागार कार्यालय रुपन्देहीमा कार्यरत शाखा अधिकृत पन्थीलाई जगन्नाथ गाउँपालिकामा कामकाजका लागि खटाइएको हो।
यस अघि बुढीगंगा नगरपालिकामा उपसचिव दीपक भण्डारी प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत थिए। त्यस्तै, जगन्नाथ गाउँपालिकामा स्वास्थ्य शाखा प्रमुख रवीन्द्र शाहीले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका थिए।
नयाँ प्रमुख प्रशासकीय अधिकृत खटिएसँगै बाजुराका नौ वटै स्थानीय तहमा दरबन्दी अनुसार प्रमुख प्रशासकीय अधिकृत पुगेका छन्। यसले स्थानीय तहको प्रशासनिक कामकाज, सेवा प्रवाह तथा विकास निर्माणका गतिविधिलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।





प्रतिक्रिया