बाजुरा ःत्रिवेणी नगरपालिका-९ ताम्सुमा पहिरोबाट प्रभावित ५८ परिवारलाई राहत तथा सरसफाइ सामग्री वितरण गरिएको छ। विपद्पछि प्रभावित परिवारको तत्कालीन आवश्यकता सम्बोधन गर्ने उद्देश्यले प्लान इन्टरनेशनल नेपाल, पीसविन नेपाल तथा महिला विकास मञ्च, बाजुराको सहकार्यमा राहत सामग्री उपलब्ध गराइएको हो।
त्रिवेणी नगरपालिका तथा वडा कार्यालयबाट प्राप्त क्षतिको विवरण, प्रभावित परिवारको अवस्था सम्बन्धी जानकारी र वडा कार्यालयको सिफारिसका आधारमा परिवार पहिचान गरी राहत सामग्री वितरण गरिएको पीसविन नेपालका परियोजना संयोजक पदम कठायतले जानकारी दिए।
राहत स्वरुप पहिरो प्रभावित ५८ वटै परिवारलाई प्रति परिवार १६ प्रकारका सरसफाइ तथा व्यक्तिगत स्वच्छता सम्बन्धी सामग्री प्रदान गरिएको थियो। विपद्को समयमा स्वास्थ्य, सरसफाइ तथा व्यक्तिगत सुरक्षालाई प्राथमिकता दिँदै उक्त सामग्री उपलब्ध गराइएको हो।
त्यसैगरी, ५८ परिवार मध्ये गर्भवती महिला वा एक वर्षमुनिका बालबालिका भएका ८ परिवारलाई थप २० प्रकारका मर्यादित सामग्री वितरण गरिएको थियो। सबैभन्दा बढी प्रभावित थप २ परिवारलाई मर्यादित सामग्रीसँगै किचेन सेट समेत उपलब्ध गराइएको थियो। किचेन सेटमा दैनिक घरायसी प्रयोजनमा आवश्यक पर्ने ८ प्रकारका भाँडाकुँडा तथा सामग्री समावेश थिए।
राहत सामग्री हस्तान्तरण कार्यक्रममा त्रिवेणी नगरपालिकाका नगर प्रमुख कर्णबहादुर थापा, वडा नं. ९ का वडाध्यक्ष नन्दबहादुर थापा तथा विपद् सम्पर्क व्यक्ति राजेन्द्र साउँदको सहभागिता रहेको थियो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि तथा सम्बन्धित सरोकारवालाको समेत उपस्थिति थियो।
कार्यक्रममा प्लान इन्टरनेशनल नेपालका परियोजना व्यवस्थापक लालबाबु प्रसाद कुशवाहा, मिल संयोजक पुनम साउँद, पीसविन नेपालका अध्यक्ष विमला थापा, परियोजना संयोजक पदम कठायत, महिला विकास मञ्च, बाजुराका कार्यकारी निर्देशक उजा बिष्ट, परियोजना संयोजक अशोक विक्रम शाह लगायत सम्बन्धित संस्थाका कर्मचारी तथा सरोकारवालाको उपस्थिति रहेको थियो।
राहत सामग्री ग्रहण गर्दै नगर प्रमुख कर्णबहादुर थापाले विपद्को कठिन अवस्थामा प्रभावित परिवारलाई सहयोग पुर्याएकोमा सहयोगी संस्थाप्रति आभार व्यक्त गरे।
उनले भने, “पहिरोबाट प्रभावित परिवारका लागि राहत सामग्री लिएर सबैभन्दा पहिले ताम्सु पुगेर सहयोग गर्नुहुने प्लान इन्टरनेशनल नेपाल, पीसविन नेपाल र महिला विकास मञ्च, बाजुरालाई हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछु। विपद्को कठिन समयमा गर्नुभएको सहयोगले प्रभावित परिवारलाई ठूलो राहत पुगेको छ।”
उपलब्ध गराइएको राहत सामग्रीले पहिरो प्रभावित परिवारको तत्कालीन आवश्यकता पूरा गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। विशेषगरी विपद्को समयमा स्वास्थ्य, सरसफाइ, सुरक्षा र व्यक्तिगत मर्यादा संरक्षणमा सामग्रीले महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ।
२०८३ साउन २८ गते राति परेको अविरल वर्षाका कारण त्रिवेणी नगरपालिका-९ ताम्सुमा पहिरो गएको थियो। पहिरोमा परी दुईवटा घर पुरिएका थिए भने एक युवतीको मृत्यु भएको थियो।
घटनामा दुई जना गम्भीर घाइते भएका थिए भने अन्य स्थानीयबासी समेत प्रभावित भएका थिए। विपद्पछि प्रभावित परिवारको अवस्था पहिचान गरी तत्काल राहत तथा आवश्यक सहयोग उपलब्ध गराउने क्रम जारी रहेको जनाइएको छ।





प्रतिक्रिया