गाैमुल खबर डटकम मङ्गलबार ०२, भदौ २०८३ ०३:२०

बडीमालिका-५ मा बन्यो आफ्नै वडा कार्यालय भवन, नगरप्रमुख खड्काद्वारा उद्घाटन

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, भदौ ०१, २०८३
बडीमालिका-५ मा बन्यो आफ्नै वडा कार्यालय भवन, नगरप्रमुख खड्काद्वारा उद्घाटन

बाजुरा ः बडीमालिका नगरपालिका-५ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन गरिएको छ। सोमबार आयोजित एक कार्यक्रमबीच बडीमालिका नगरपालिकाका नगरप्रमुख अमर खड्काले नवनिर्मित भवनको उद्घाटन गरेका हुन्।

वडा अध्यक्ष धरमपाल मिजारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरप्रमुख खड्का प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा नगर प्रवक्ता धर्मराज पाध्याय, बडीमालिका-२ का वडा अध्यक्ष डम्बर महत, जिल्ला समन्वय समिति सदस्य लक्ष्मी बुढा साउँद, वडा सदस्य, कर्मचारी तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

वडा कार्यालय भवन निर्माणका लागि करिब २ करोड रुपैयाँ लागत अनुमान गरिएको भए पनि १ करोड १६ लाख रुपैयाँमा निर्माण सम्झौता भएको वडा अध्यक्ष धरमपाल मिजारले जानकारी दिए। उनका अनुसार हालसम्म भवन निर्माणतर्फ करिब ६२ लाख रुपैयाँको बिल उठिसकेको छ।

वडा अध्यक्ष मिजारले सीमित स्रोत-साधनका बाबजुद वडा कार्यालयका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण हुनु महत्वपूर्ण उपलब्धि भएको बताए। नयाँ भवनबाट वडाबासीलाई थप सहज र प्रभावकारी रूपमा सेवा प्रवाह गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।

उद्घाटन कार्यक्रममा नगरप्रमुख अमर खड्काले वडा कार्यालय स्थानीय नागरिकलाई प्रत्यक्ष रूपमा सेवा प्रवाह गर्ने महत्वपूर्ण केन्द्र भएकाले भौतिक पूर्वाधारसँगै जनमुखी र प्रभावकारी सेवा प्रवाहलाई प्राथमिकता दिनुपर्ने बताए।

उनले नयाँ भवनबाट वडाबासीले सहज, छिटो र व्यवस्थित रूपमा सेवा प्राप्त गर्ने विश्वास व्यक्त गर्दै नगरपालिकाले सबै वडामा आवश्यक पूर्वाधार विकास गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै लैजाने बताए।

नगर प्रवक्ता धर्मराज पाध्यायले आफ्नै वडा कार्यालय भवन निर्माण हुनु स्थानीय सरकारको संस्थागत विकासका दृष्टिले महत्वपूर्ण उपलब्धि भएको बताए। भवन निर्माणसँगै नागरिकलाई गुणस्तरीय सेवा दिने जिम्मेवारी पनि बढेको भन्दै उनले जनताको गुनासो र आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिए।

त्यस्तै, बडीमालिका नगरपालिका-२ का वडा अध्यक्ष डम्बर महतले आफ्नै वडा कार्यालय भवन निर्माण भएपछि सेवा प्रवाहमा थप सहजता आउने बताए। भौतिक संरचनासँगै नागरिकको विश्वास जित्ने गरी जनप्रतिनिधि र कर्मचारीले काम गर्नुपर्ने उनको भनाइ थियो।

कार्यक्रममा वडा अध्यक्ष मिजारले भवन निर्माणमा सहयोग गर्ने नगरपालिका, जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयबासीप्रति धन्यवाद व्यक्त गरे। उनले नयाँ भवनलाई वडाबासीका लागि सहज, छिटो र नागरिकमैत्री सेवा प्रवाहको केन्द्र बनाउने प्रतिबद्धता व्यक्त गरे।

उद्घाटन कार्यक्रममा सहभागी जनप्रतिनिधि तथा राजनीतिक दलका प्रतिनिधिहरूले पनि नवनिर्मित वडा कार्यालयलाई प्रशासनिक भवनका रूपमा नभई नागरिकका गुनासा, आवश्यकता र सेवासँग प्रत्यक्ष जोडिने नागरिकमैत्री सेवा केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका थिए।

प्रतिक्रिया