गाैमुल खबर डटकम मङ्गलबार ०२, भदौ २०८३ ०३:२०

बाजुराका बाढीपहिरो पीडितलाई राहत र घाइतेको निःशुल्क उपचार गर्न सांसद गिरीको माग

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, भदौ ०१, २०८३
बाजुराका बाढीपहिरो पीडितलाई राहत र घाइतेको निःशुल्क उपचार गर्न सांसद गिरीको माग

बाजुरा ःबाजुराबाट निर्वाचित प्रतिनिधिसभा सदस्य जनकराज गिरीले जिल्लाका बाढीपहिरो पीडितलाई तत्काल राहत, पुनःस्थापना तथा घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद गिरीले त्रिवेणी नगरपालिका-९ ताम्सुमा पहिरोले पुर्‍याएको क्षतिप्रति दुःख व्यक्त गर्दै पहिरोमा घाइते भएका व्यक्तिको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।

गत बिहीबार राति आएको पहिरोमा परी ताम्सु गाउँमा एक जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए। पहिरोमा दुई घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। गाउँको बीच भागमा पहिरो जानुका साथै विभिन्न ठाउँमा जमिन चिराचिरा परेपछि गाउँका ५८ परिवार उच्च जोखिममा रहेको त्रिवेणी नगरपालिकाले जनाएको छ।

पहिरोमा परी स्थानीय कर्णबहादुर थापाकी २० वर्षीया छोरी प्रतीक्षा थापाको मृत्यु भएको थियो। यस्तै, ४० वर्षीय धर्म थापा र ४० वर्षीया धौलीदेवी रावल घाइते भएका छन्। धर्मको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने धौलीदेवीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ।

पहिरोबाट विस्थापित परिवारलाई तत्कालका लागि नगरपालिकालगायत विभिन्न संघसंस्थाको सहयोगमा सुरक्षित स्थानमा त्रिपाल हालेर व्यवस्थापन गरिएको छ। केही परिवार सहकारीको भवनमा, केही महालक्ष्मी आधारभूत विद्यालयमा बसेका छन् भने केही परिवार त्रिपाल टाँगेर बस्न बाध्य छन्।

सांसद गिरीले सोही दिन गौमुल गाउँपालिका–३ दल्लेरीमा आएको बाढीबाट स्थानीय अङ्गबिरे बोहरा, जसे बोहरा, कुसु बोहरा, गुलाब बोहरालगायत नौ परिवारको घर पूर्ण रूपमा क्षति भएको जानकारी गराउँदै उनीहरूको तत्काल उद्धार, राहत तथा पुनःस्थापनाको व्यवस्था गर्न सरकारसँग माग गरे।

उनले भने, “क्षति भएका परिवारहरू अहिले पाल हालेर डाँडामा बसेका छन्। उनीहरूको तत्काल राहत र पुनःस्थापनाका लागि सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।”

बाढीपहिरोका कारण घरबारविहीन बनेका परिवारलाई सुरक्षित आवास, खाद्यान्न तथा आवश्यक राहत सामग्री उपलब्ध गराउनुका साथै जोखिममा रहेका बस्तीको तत्काल भौगर्भिक अध्ययन गरी दीर्घकालीन पुनःस्थापनाको व्यवस्था गर्नुपर्नेमा सांसद गिरीले जोड दिएका छन्।

प्रतिक्रिया