गाैमुल खबर डटकम सोमबार ०१, भदौ २०८३ ०५:१८

बडीमालिकामा आजबाट पूजा सुरु, दर्शनार्थीको चाप बढ्ने अनुमान

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, भदौ ०१, २०८३
बडीमालिकामा आजबाट पूजा सुरु, दर्शनार्थीको चाप बढ्ने अनुमान

बाजुरा ःधार्मिक तथा पर्यटकीय क्षेत्र बाजुराको प्रसिद्ध बडीमालिका भगवती मन्दिरमा आजदेखि पूजा तथा मेला प्रारम्भ भएको छ। दर्शनार्थीको बढ्दो चापलाई मध्यनजर गर्दै यस वर्ष मुख्य पूजाअघि नै पूजा सुरु गरिएको हो।

बडीमालिका मन्दिरका पुजारी नेत्र पाध्यायका अनुसार यस वर्ष मुख्य पूजा भदौ ११ गते हुने भए पनि एकै दिन अत्यधिक भीड हुने भएकाले अगाडीबाटै पूजा सुरु गरिएको हो।

गत वर्ष करिब ४५ हजारभन्दा बढी भक्तजनले बडीमालिकाको दर्शन गरेका थिए। यस वर्ष नयाँ प्यागोडा शैलीको मन्दिर निर्माणपछि दर्शनार्थीको संख्या अझ बढ्ने अनुमान गरिएको छ।

बाजुरा, डोटी र जुम्लाबाट पूजा सामग्री सहित सरकारी टोली बडीमालिका पुग्ने परम्परा छ। डोटीबाट सरकारी पूजा सामग्री ‘पेटारो’ सहितको टोली साउन २८ गते नै प्रस्थान गरिसकेको छ।

पूजा तथा मेला व्यवस्थित बनाउन जिल्ला प्रशासन, स्थानीय तह र सुरक्षा निकायले तयारी तीव्र पारेका छन्। मेला सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन १४ बुँदे निर्णय गरिएको छ।

मन्दिर जाने मार्गमा संकेत चिन्ह, साइनबोर्ड तथा सूचना पाटी राखिनेछ भने धार्मिक क्षेत्रको पवित्रता कायम गर्न मदिरा, लागूपदार्थ र मासुजन्य वस्तु निषेध गरिएको छ।

दर्शनार्थी लेक लाग्ने, बिरामी पर्ने वा अन्य आपत्कालीन अवस्था आए तत्काल उद्धार गर्ने व्यवस्था मिलाइएको छ। स्वास्थ्य तथा सुरक्षा निकायसँग समन्वय गरी उद्धार तथा स्वास्थ्य व्यवस्थापनको जिम्मेवारी सम्बन्धित निकायले सम्हाल्ने जनाइएको छ।

यस वर्ष बडीमालिकामा दर्शनार्थीको संख्या अझ बढ्ने अनुमान गरिएकाले पूजा, सुरक्षा, स्वास्थ्य र यातायात व्यवस्थापनलाई विशेष प्राथमिकता दिइएको छ।

प्रतिक्रिया