गाैमुल खबर डटकम सोमबार ०१, भदौ २०८३ ०५:१८

बाजुरामा ग्यासको हाहाकार : उपभोक्ता चुलो बाल्नै समस्यामा, प्रशासन कहाँ छ ?

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, भदौ ०१, २०८३
बाजुरामा ग्यासको हाहाकार : उपभोक्ता चुलो बाल्नै समस्यामा, प्रशासन कहाँ छ ?

बाजुरा ःबाजुरामा खाना पकाउन प्रयोग हुने एलपी ग्यासको चरम अभाव भएपछि उपभोक्ता मारमा परेका छन्। सदरमुकाम मार्तडीमा समेत ग्यास सहज रुपमा पाउन नसक्दा सर्वसाधारणले सास्ती खेप्नुपरेको छ।

व्यवसायीका अनुसार मार्तडी बजारमा मात्रै मासिक करिब ८ हजार सिलिण्डर एलपी ग्यास आवश्यक पर्ने गरेको छ। जिल्लामा हाल साइपाल र रेडियन्ट कम्पनीका ग्यास बिक्री हुँदै आएका छन्। तर पछिल्लो केही दिनयता बजारमा ग्यासको अभाव चर्किएको व्यवसायी प्रकाश थापाले बताएका छन्।

प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले भने जिल्लामा केही दिनदेखि ग्यास रहेको जानकारी आफूलाई प्राप्त भएको बताएका छन्। तर उद्योग वाणिज्य संघ बाजुराका अध्यक्ष चक्र रोकायाले अनुगमनका क्रममा केही ग्यास उपलब्ध देखिए पनि अहिले बजारमा ग्यास सकिएको बताएका छन्।

ग्यास जस्तो अत्यावश्यक उपभोग्य वस्तुको अभाव हुँदा उपभोक्ता थप समस्यामा परेका छन्। लामो समयसम्म ग्यास नपाउँदा खाना पकाउन वैकल्पिक इन्धन प्रयोग गर्नुपर्ने बाध्यता बढेको छ भने बजारमा ग्यासको वास्तविक मौज्दात, बिक्री वितरण र आपूर्तिको अवस्थाबारे समेत प्रश्न उठेको छ।

उपभोक्ताले ग्यासको अभाव किन भयो, जिल्लामा भित्रिएको ग्यास कहाँ र कसरी वितरण भइरहेको छ तथा व्यवसायीले मौज्दात राखेका छन् कि छैनन् भन्ने विषयमा तत्काल प्रभावकारी बजार अनुगमन गर्न प्रशासन र उद्योग वाणिज्य संघसँग माग गरेका छन्।

यस्तै, जिल्लाको वास्तविक माग अनुसार पर्याप्त परिमाणमा ग्यास तत्काल आपूर्ति गरी कृत्रिम अभाव, कालोबजारी वा अस्वाभाविक मूल्यवृद्धि भए कडाइका साथ नियन्त्रण गर्नुपर्ने आवाज उठेको छ।

अत्यावश्यक वस्तुको आपूर्तिमा देखिएको यो समस्या तत्काल समाधान नगरे सर्वसाधारणको दैनिक जीवन थप प्रभावित हुने देखिएको छ। त्यसैले सम्बन्धित निकायले ग्यासको मौज्दात र वितरण प्रणालीको तत्काल अनुगमन गरी आवश्यक परिमाणमा ग्यास भित्र्याएर उपभोक्तालाई सहज र नियमित आपूर्ति सुनिश्चित गर्नुपर्ने आवश्यकता देखिएको छ।

प्रतिक्रिया