बाजुरा ः प्राकृतिक विपत्तिमा परी पछिल्लो चार दिनमा रोल्पा र जाजरकोटमा गरी २१ जनाले ज्यान गुमाएका छन् । लगातारको वर्षापछि आएको पहिरोमा एकजना बेपत्ता र ११ जना घाइते भएको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार लगातारको वर्षापछि रोल्पाको थवाङ, सुनछहारी र लुङ्री गाउँपालिकामा भीषण पहिरो गएको छ । ती घटनामा हालसम्म १७ जनाले ज्यान गुमाएका छन् । जसमध्ये थवाङमा गएको पहिरोमा मात्रै ज्यान गुमाउनेको संख्या १२ छ ।
एकजना बेपत्ता भएका छन् भने दुईजना गम्भीर घाइते भएका छन् । त्यस्तै, सुनछहारीमा चार र लुङ्रीमा एकजनाले ज्यान गुमाएका छन् । त्यसबाहेक जाजरकोटको भेरी नगरपालिका– २ मा गएको पहिरोमा परी थप चारजनाले ज्यान गुमाएका छन् ।
प्राधिकरणका प्रवक्ता शान्ति महतले पछिल्लो चार दिनयता गएको भीषण पहिरोमा परी ज्यान गुमाउनेको संख्या २१ पुगेको र एकजना बेपत्ता भएको बताइन् । ‘चार दिनयता आएको लगातारको वर्षापछि ठाउँठाउँमा पहिरो गएको छ ।
घटना परी हालसम्म २१ जनाले ज्यान गुमाएका छन् । एकजना बेपत्ता छन् । घाइेतको संख्या ११ पुगेको छ । उद्धारका लागि स्थानीय तह, रेडक्रसदेखि सुरक्षाकर्मीसमेत परिचालन गरिएका छन्,’ उनले भनिन् ।
प्राधिकरणले थवाङ, सुनछहारी र लुङ्री गाउँपालिकामा गएको पहिरो अध्ययन गर्न समिति गठन गरेको छ । उक्त समितिले भेरी नगरपालिका र बाजुराको त्रिवेणी नगरपालिकामा गएको पहिरोको पनि भूगर्भ अध्ययन गर्नेछ । उनीहरूलाई अबको तीन दिनभित्र घटनास्थल पुग्न प्राधिकरणले निर्देशन दिएको छ ।
घटनालगत्तै बसेको प्राधिकरणको बैठकले हिमाली तथा पहाडी क्षेत्रका कतिपय स्थानमा लगातार वर्षा हुँदा जमिन गलेको, सोको कारण पहिरोको घटना र जोखिम बढ्दै गएको उल्लेख गरेको छ ।
साथै अन्य स्थानमा समेत बाढी, आकस्मिक बाढी, गेग्रान बहाव र डुबानजस्ता प्रकोपको जोखिम रहेको भन्दै प्राधिकरणले मनसुन अवधिभर थप सतर्कता अपनाउन सचेत गराएको छ ।
कहाँ कतिको मृत्यु ?
थवाङ गापा (रोल्पा) : १२
सुनछहारी गापा (रोल्पा) : ४
भेरी नपा (जाजरकोट) : ४
लुङ्री गापा (रोल्पा) : १





प्रतिक्रिया