बाजुरा ः बाजुराको गौमुल गाउँपालिका-३ का १२ वर्षीय सुरेन्द्र रोकाया भीरबाट खसेर गम्भीर घाइते भएका छन्। गाउँ नजिकैको भीरमा गोरु-बाख्रा चराउन गएको बेला एक्कासी चिप्लिएर लडेपछि रोकाया गम्भीर घाइते भएका हुन्।
भीरबाट लड्दा उनको आन्द्रामा गम्भीर चोट लागेर आन्द्रा फुटेको आफन्तले बताएका छन्। जिल्ला अस्पताल बाजुरामा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगिएको छ। हाल उनको त्यहीँ उपचार भइरहेको छ।
सुरेन्द्रको परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेकाले उपचार खर्च जुटाउन समस्या भएको परिवारले जनाएको छ। उपचारका क्रममा ठूलो रकम आवश्यक पर्ने भएपछि परिवारले सहयोगी मनहरुसँग आर्थिक सहयोगका लागि अपिल गरेको छ।
आफन्त तुला रोकायाले सुरेन्द्रको जीवन बचाउन सक्दो सहयोग गरिदिन सबैमा आग्रह गरेका छन्। उनका बुबा झुपे रोकायाले पनि छोराको उपचारका लागि आर्थिक सहयोग गरिदिन देश-विदेशमा रहेका मनकारी व्यक्ति, संघसंस्था तथा सहयोगी हातहरुसँग भावुक अपिल गरेका छन्।
सानो सहयोगले १२ वर्षीय सुरेन्द्रको जीवन बच्न सक्छ। आर्थिक अवस्था कमजोर परिवारका लागि अहिले प्रत्येक सहयोग उपचारको आशा बनेको छ। त्यसैले सुरेन्द्रको जीवनरक्षाका लागि आफूले सक्ने सहयोग गरिदिन परिवारले सबैमा आग्रह गरेको छ।





प्रतिक्रिया