गाैमुल खबर डटकम मङ्गलबार ०२, भदौ २०८३ ०२:३९

सुदूरपश्चिम भ्रमणमा रहेका पूर्वाधार विकासमन्त्री लम्साल बिरामी

बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, साउन ३१, २०८३
सुदूरपश्चिम भ्रमणमा रहेका पूर्वाधार विकासमन्त्री लम्साल बिरामी

धनगढी ःसुदूरपश्चिम भ्रमणमा रहेका पूर्वाधार विकास मन्त्री सुनिल लम्साल बिरामी परेका छन् । शनिबार दार्चुला पुगेर बैतडीको गोठालापानी पुगेका मन्त्री लम्साललाई भाइरल ज्वरो र रुघाको संक्रमण देखिएको हो ।

भाइरलको संक्रमण देखिएपछि लम्साल गोठालापानीमै आराम गरिरहेका छन् । लम्सालको स्वास्थ्यमा समस्या देखिएपछि बिहान जिल्ला अस्पतालका एमडीजीपी डा. पविन उपाध्यायले उनको स्वास्थ्य चेकजाँच गरेका थिए ।

डा.उपाध्यायले मन्त्री लम्साललाई भाइरल ज्वरो र रुघाखोकीको सामान्य समस्या देखिएको जानकारी दिए । उनकाअनुसार मन्त्री लम्साललाई केही समय आराम गर्न सुझाव दिइएको छ ।

‘दौडधुप र मौसम परिवर्तनको कारणले पनि हुनसक्छ मन्त्रीज्युलाई समान्य भाइरल ज्वरो र रुघाखोकी देखिएको छ,’ डा.उपाध्यायले भने, ‘आत्तिनुपर्ने अवस्था होइन । दौडधुप र अनिन्द्राका कारण पनि हुुनसक्छ ।

आराम गर्न सुझाव दिएका छौँ ।’ मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलसहितका कर्मचारी समेत मन्त्रीको भ्रमण टोलीमा सहभागी छन् । मन्त्रीको स्वास्थ्यमा समस्या देखिएपछि अन्य कार्यक्रम प्रभावित भएका छन् ।

मन्त्री लम्सालले जिल्ला प्रशासन कार्यालयमा कार्यालय प्रमुखको बैठकमा सहभागी भएर बझाङ जाने कार्यक्रम थियो । तर आफैँ बिरामी परेपछि कार्यक्रम प्रभावित भएका छन् । विमान मार्फत शुक्रबार धनगढी पुगेका मन्त्री लम्सालले डोटीको बीपीनगर पुगेर धनगढी दिपायल द्रुत मार्गको अवलोकन गरेका थिए ।

त्यहाँबाट आफै गाडी चलाएर दार्चुलातिर लागेका थिए । दार्चुलामा उनले महाकाली करिडोर र जिल्ला अस्पतालको भौतिक संरचनाको अनुगमन निरीक्षण गरेका थिए ।

लम्साल शनिबार अबेर साँझ आफै गाडी चलाएर बैतडी सदरमुकाम पुगेका थिए । गोठलापानीमा रहेको निवास हेरिटेज होटलमा बास बसेका उनी अहिले होटलमै आराम गरिरहेका छन् ।

प्रतिक्रिया