बाजुरा ःपछिल्लो समय लगातार भइरहेको वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्दै गएकाले बाजुराको गौमुल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले सम्पूर्ण समुदायलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।
अध्यक्ष रोकायाले सामाजिक सञ्जाल मार्फत वर्षाका कारण विभिन्न स्थानमा बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्को जोखिम बढेको भन्दै सबै नागरिकलाई सचेत र सुरक्षित रहन अनुरोध गरेका हुन् ।
उनले जोखिमयुक्त क्षेत्रका बस्ती तथा परिवारले विशेष सावधानी अपनाउन, सम्भावित विपद्बारे समयमै जानकारी लिन तथा आवश्यक परे सुरक्षित स्थानतर्फ जान समेत आग्रह गरेका छन् ।
अविरल वर्षाका कारण सडक, बस्ती, खानेपानी तथा अन्य भौतिक संरचनामा क्षति पुग्न सक्ने भएकाले स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग समन्वय गर्दै विपद्को सामना गर्नुपर्ने अध्यक्ष रोकायाको भनाइ छ ।
उनले विपद्को समयमा एक अर्कालाई सहयोग गर्दै समुदायस्तरबाटै पूर्वतयारी र सतर्कता अपनाउन समेत सबैमा आग्रह गरेका छन् ।
“बाढी पहिरोको जोखिम बढेकाले सम्पूर्ण समुदायलाई सचेत रहन अनुरोध छ,” अध्यक्ष रोकायाले सामाजिक सञ्जालमा लेखेका छन् ।





प्रतिक्रिया