गाैमुल खबर डटकम शुक्रबार २९, साउन २०८३ ००:०९

‘युवा जागे गौमुल बदलिन्छ, युवाको साथ बिना परिवर्तन सम्भव छैन’ : वडा अध्यक्ष विक

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, साउन २८, २०८३
‘युवा जागे गौमुल बदलिन्छ, युवाको साथ बिना परिवर्तन सम्भव छैन’ : वडा अध्यक्ष विक

बाजुरा ःगौमुल गाउँपालिका-४ का वडा अध्यक्ष अमर बहादुर विकले युवाहरुको सक्रिय साथ, सहभागिता र नेतृत्वबिना समाजमा कुनै पनि परिवर्तन सम्भव नभएको बताएका छन् । उनले युवालाई विकासका दर्शक नभई गाउँ र पालिका निर्माणका मुख्य संवाहक बन्न आग्रह गरेका छन् ।

गौमुल गाउँपालिका-४ को माउण्टेन भिजन युवा क्लबको आयोजनामा, वडा नं. ४ कार्यालयको समन्वय तथा आर्थिक सहयोग, मानव संसाधन केन्द्र बाजुरा र पीसविन बाजुराको आर्थिक सहयोग तथा गौमुल विकास समाजको सहजीकरणमा २७औँ अन्तर्राष्ट्रिय युवा दिवस विविध कार्यक्रम सहित भव्य रुपमा सम्पन्न भएको हो ।

युवा दिवसको अवसरमा वडाका ६ वटै टोलस्तरमा हाजिरीजवाफ, डेउडा तथा नृत्य प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगिता मार्फत युवाहरुको प्रतिभा, सिर्जनशीलता, ज्ञान तथा सांस्कृतिक पहिचानलाई प्रोत्साहन गर्ने प्रयास गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष विकले युवाहरुमा भएको ऊर्जा, सीप, क्षमता र सिर्जनशीलतालाई गाउँको विकाससँग जोड्न सके गौमुलको भविष्य अझ उज्यालो बन्ने बताए ।

उनले भने, “युवा जागे गाउँ जाग्छ, युवा अघि बढे विकास अघि बढ्छ । युवाको साथ र सक्रियता बिना वडाको मात्रै होइन, सिंगो गौमुलको परिवर्तन सम्भव छैन् । त्यसैले युवाले अवसर खोज्ने मात्र होइन, अवसर सिर्जना गर्ने नेतृत्व लिनुपर्छ ।”

वडा अध्यक्ष विकले युवाहरु विदेशिने अवस्थालाई मात्र दोष दिनुभन्दा गाउँमै सम्भावना र अवसर सिर्जना गर्न स्थानीय सरकार, समुदाय र युवाहरुबीच सहकार्य आवश्यक रहेको बताए । “गौमुलका युवाको सपना ठूलो हुनुपर्छ, लक्ष्य स्पष्ट हुनुपर्छ र आफ्नो गाउँ बनाउने जिम्मेवारीको भावना अझ बलियो हुनुपर्छ,” उनले भने ।

युवाहरुलाई शिक्षा, सीप, उद्यम, खेलकुद, प्रविधि र सामाजिक सेवामा जोड्दै स्थानीय विकासमा उनीहरुको नेतृत्व स्थापित गर्न वडा कार्यालय प्रतिबद्ध रहेको पनि उनले बताए ।

२७ औँ अन्तर्राष्ट्रिय युवा दिवस कार्यक्रमको अध्यक्षता भुपाल बहादुर रोकायाले गरेका थिए भने प्रमुख अतिथिका रुपमा वडा अध्यक्ष अमर बहादुर विक रहेका थिए । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, युवा, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीयबासीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया