बाजुरा ः बाँझो तथा उपयोगविहीन जमिनलाई कृषि उत्पादनसँग जोड्ने उद्देश्यले बडीमालिका नगरपालिकामा भूमि बैंक स्थापना हुने भएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बडीमालिका नगरपालिकासहित देशका चार स्थानीय तहलाई भूमि बैंक स्थापना गर्न स्वीकृति दिएसँगै नगरपालिकाको लामो समयदेखिको पहल कार्यान्वयनको चरणमा पुगेको हो।
मन्त्रालयले तनहुँको व्यास नगरपालिका, बैतडीको पञ्चेश्वर गाउँपालिका, सिन्धुलीको फिक्कल गाउँपालिका र बाजुराको बडीमालिका नगरपालिकालाई भूमि बैंक स्थापना गर्न स्वीकृति दिएको हो।
बडीमालिका नगरपालिकाका नगरप्रमुख अमर खड्का निर्वाचित भएर आएपछि नगर क्षेत्रमा वर्षौंदेखि बाँझो रहेको तथा उपयोगविहीन अवस्थामा रहेको जमिनलाई उत्पादनसँग जोड्ने विषयमा व्यापक बहस, छलफल र सरोकारवालासँगको परामर्श हुँदै आएको थियो। सोही क्रममा भूमि बैंक स्थापना गर्ने विषयलाई नगरपालिकाले नीतिगत प्राथमिकताका रूपमा अघि बढाउँदै आवश्यक निर्णयसमेत गरेको थियो।
नगरप्रमुख खड्काको नेतृत्वमा अघि बढाइएको उक्त पहल अहिले संघीय मन्त्रालयबाट औपचारिक स्वीकृति प्राप्त भएसँगै कार्यान्वयनको चरणमा प्रवेश गरेको हो। यसलाई बडीमालिकाको कृषि, रोजगारी र स्थानीय अर्थतन्त्रसँग जोडिएको महत्वपूर्ण नीतिगत उपलब्धिका रूपमा हेरिएको छ।
भूमि बैंकमार्फत नगरपालिकाभित्र रहेका बाँझो तथा उपयोगविहीन निजी जग्गाको पहिचान, अभिलेखीकरण र व्यवस्थापन गरिनेछ। जग्गाधनीको स्वामित्व भने यथावत रहनेछ। सम्झौताका आधारमा त्यस्ता जग्गा कृषि उत्पादनका लागि उपयोगमा दिइने र त्यसबापत जग्गाधनीले तोकिएको प्रतिफल प्राप्त गर्ने व्यवस्था हुनेछ।
भूमि आवश्यक भएका भूमिहीन तथा सुकुम्बासी परिवार, साना किसान, दलित, सीमान्तकृत तथा आर्थिक रूपमा विपन्न परिवारलाई प्राथमिकतामा राखेर जग्गा उपयोगको अवसर सिर्जना गर्ने लक्ष्यसमेत भूमि बैंकको रहेको मन्त्रालयले जनाएको छ।
भूमिको भूउपयोग वर्गीकरणअनुसार अन्नबाली, तरकारी, नगदेबाली, फलफूल खेती, माछापालन तथा पशुपन्छीपालनजस्ता कृषि गतिविधिलाई प्रोत्साहन गरिनेछ। स्थानीय तहबाट उपलब्ध हुने बीउ, मल, प्राविधिक सहयोग तथा अन्य कृषि सहुलियतलाई समेत भूमि बैंकमार्फत लक्षित वर्गसँग जोड्ने योजना छ।
बडीमालिकामा ठूलो क्षेत्रफलमा जमिन बाँझो रहने, युवाहरू रोजगारीका लागि बाहिरिने र कृषि उत्पादनका लागि आवश्यक जमिनको व्यवस्थित उपयोग हुन नसक्ने अवस्थालाई भूमि बैंकले सम्बोधन गर्ने अपेक्षा गरिएको छ। स्थानीयस्तरमै रोजगारी सिर्जना गर्दै कृषि उत्पादन र उत्पादकत्व बढाउने तथा आयातमा निर्भरता घटाउने दिशामा यो कार्यक्रम महत्वपूर्ण हुने नगरपालिकाको विश्वास छ।
नगरप्रमुख अमर खड्काले भूमि बैंकको अवधारणालाई केवल बाँझो जमिन व्यवस्थापनको कार्यक्रमका रूपमा नभई भूमि, श्रम, प्रविधि र बजारलाई एकीकृत गरी स्थानीय अर्थतन्त्र चलायमान बनाउने नीतिका रूपमा अघि बढाउन खोजेको बताउँदै आएका छन्।
भूमि बैंक स्थापना भएपछि नगरपालिकाले उपयोगविहीन जमिनको तथ्यांक संकलन, जग्गाधनीसँग समन्वय, आवश्यकताका आधारमा जग्गा उपयोग गर्ने व्यक्ति तथा समूहको पहिचान र उत्पादनसँग जोड्ने प्रक्रिया अघि बढाउनेछ।
वर्षौंदेखि उपयोगविहीन अवस्थामा रहेका जमिनलाई उत्पादनशील बनाउने, स्थानीय नागरिकलाई कृषि उद्यमतर्फ आकर्षित गर्ने, रोजगारीका अवसर सिर्जना गर्ने र नगरको आर्थिक आधार बलियो बनाउने उद्देश्यले अघि बढाइएको भूमि बैंक कार्यक्रम बडीमालिकाको विकास यात्रामा नयाँ अध्यायका रूपमा हेरिएको छ।
नीतिगत बहसबाट सुरु भएको पहल अब कार्यान्वयनको चरणमा पुगेको छ। नगरप्रमुख खड्काको नेतृत्वमा अघि बढाइएको भूमि बैंकको अवधारणा व्यवहारमा सफल रूपमा कार्यान्वयन गर्न सके बडीमालिकामा बाँझो जमिनलाई आयआर्जन र उत्पादनको आधारमा रूपान्तरण गर्ने महत्वपूर्ण अवसर बन्न सक्ने देखिन्छ।





प्रतिक्रिया