बाजुरा ःगौमुल गाउँपालिका-६ का वडा अध्यक्ष प्रकाश रोकायाले युवाहरु देश विकास र निर्माणका प्रमुख संवाहक भएको बताएका छन् । युवाहरुको सक्रियता, सिर्जनशीलता र नेतृत्व क्षमताले समाजलाई सकारात्मक दिशातर्फ अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ ।
वडामा रहेको भविष्य तारा युवा क्लबको आयोजनामा बुधबार सम्पन्न अन्तर्राष्ट्रिय युवा दिवस कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष रोकायाले युवालाई विकासको साझेदारका रुपमा अघि बढाउनुपर्नेमा जोड दिए ।
उनले भने, “युवा शक्ति देशको सबैभन्दा ठूलो सम्पत्ति हो । युवाहरु जागरुक, जिम्मेवार र सकारात्मक सोचका साथ अघि बढेमा गाउँको विकासदेखि समग्र राष्ट्र निर्माणसम्म ठूलो परिवर्तन ल्याउन सकिन्छ ।”
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा भविष्य तारा युवा क्लबले गाउँपालिका भवन परिसर र घट्मुना बजार क्षेत्रमा सरसफाइ अभियान सञ्चालन गरेको थियो । सरसफाइपछि औपचारिक कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा वडा सदस्य कलक चँदारा, राष्ट्रिय स्वतन्त्र पार्टी गौमुल गाउँ समिति सभापति सुरेन्द्रकुमार रोकाया, जिल्ला कमिटी सदस्य उमेश रोकाया, इलाका प्रहरी कार्यालय गौमुलका प्रमुख प्रेम साहु, रेडियो गौमुलका स्टेशन प्रबन्धक रमित विक, वडा कार्यालयका कर्मचारी दीपेन्द्र रोकाया लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रम भविष्य तारा युवा क्लबका अध्यक्ष रोहित विकको अध्यक्षतामा सञ्चालन भएको थियो भने सचिव सन्देश रोकायाले कार्यक्रमको सञ्चालन गरेका थिए । कार्यक्रममा स्थानीय युवाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।





प्रतिक्रिया