बाजुरा ःगौमुल गाउँपालिका-१ अन्द्राडीका आमाहरु पछिल्लो समय सामाजिक कार्यमा सक्रिय बन्दै गएका छन् । टोलमा गठन गरिएको लगनशील आमा समूहमा टोलका महिला दिदीबहिनीहरु आबद्ध भई गाउँको सामाजिक विकास तथा सार्वजनिक सरोकारका काममा जुट्न थालेका हुन् ।
आमा समूहले वर्षाका कारण क्षति पुगेका गाउँका बाटोघाटो मर्मतदेखि नियमित मासिक बैठक मार्फत टोलका विभिन्न समस्या पहिचान गरी समाधानका लागि आवश्यक निर्णय गर्दै आएको छ ।
महिला अगुवा कमला बोहराका अनुसार आमा समूहले पछिल्लो समय वर्षाका कारण भत्किएको अन्द्राडीबाट मल्दुगुन, तल्दुगुन लगायत स्थानमा जाने बाटो मर्मत गरेको छ ।
त्यस्तै, टोलमै रहेको अन्द्राडी दोगाडे झरनासम्म पुग्ने बाटो समेत मर्मत गरिएको छ । वर्षाका कारण बाटो भत्किँदा विद्यार्थी तथा स्थानीयबासीलाई दैनिक आवतजावतमा समस्या हुँदै आएको थियो । त्यसपछि आमा समूहले सम्बन्धित निकायको भर नपरी सामूहिक रुपमा श्रमदान गर्दै बाटो मर्मतमा जुटेको हो ।
स्थानीय महिलाहरुले घरायसी काममा मात्रै सीमित नभई गाउँको विकास, सामाजिक एकता र सार्वजनिक समस्याको समाधानमा समेत महिलाहरुको भूमिका महत्वपूर्ण हुने सन्देश दिएका छन् ।
नियमित बैठक बस्ने, टोलका समस्या छलफल गर्ने र आवश्यकता अनुसार सामूहिक रुपमा काम गर्ने अभ्यासले अन्द्राडीका आमाहरुलाई गाउँको सामाजिक अभियानमा थप सक्रिय बनाउँदै गएको छ ।
आमा समूहको यो सक्रियताले ‘महिला घर सम्हाल्ने मात्रै होइनन्, समाज पनि सम्हाल्न सक्छन्’ भन्ने उदाहरण प्रस्तुत गरेको स्थानीयको भनाइ छ ।





प्रतिक्रिया