बाजुरा ः गौमुल गाउँपालिकाले लगातार भइरहेको वर्षाका कारण गाउँपालिकाका विभिन्न क्षेत्रमा बाढी, पहिरो, भू-क्षय तथा सडक अवरुद्ध हुने जोखिम बढेको भन्दै स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
मनसुनी गतिविधि सक्रिय भइरहेका बेला नदी, खोला तथा खोल्साको बहाव अचानक बढ्न सक्ने, कमजोर भिरालो जमिन तथा पहिरोको जोखिमयुक्त क्षेत्रमा जमिन खस्न सक्ने भएकाले गाउँपालिकाले विशेष सावधानी अपनाउन अनुरोध गरेको हो ।
गौमुल गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले वर्षायाममा विपद्को जोखिम जुनसुकै बेला निम्तिन सक्ने भएकाले नागरिकलाई सचेत र सावधान रहन आग्रह गर्नुभएको छ ।
उहाँले नदी तथा खोलाको किनार, पहिरोको जोखिमयुक्त क्षेत्र र कमजोर भिरालो जमिनमा अनावश्यक रुपमा नजान तथा जोखिमपूर्ण स्थानमा बसोबास गरिरहेकाहरूले सम्भावित विपद्बारे पूर्वतयारी अपनाउनुपर्ने बताउनुभएको छ ।
अध्यक्ष रोकायाले भन्नुभयो, “वर्षायाममा सामान्य देखिने खोला तथा खोल्सामा समेत एक्कासी पानीको बहाव बढ्न सक्छ । त्यसैले बालबालिका, ज्येष्ठ नागरिक तथा असक्त व्यक्तिहरुलाई जोखिमयुक्त क्षेत्रमा जान नदिन र सबैले उच्च सतर्कता अपनाउन आवश्यक छ ।”
गाउँपालिकाले लगातार वर्षा भइरहेको समयमा अत्यावश्यक काम बाहेक अनावश्यक यात्रा नगर्न, पहिरो खस्ने सम्भावना भएका सडक तथा बाटोमा आवतजावत गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।
त्यस्तै, सञ्चार माध्याम, स्थानीय प्रशासन, सुरक्षा निकाय तथा गाउँपालिकाबाट जारी हुने सूचना र निर्देशनलाई गम्भीरतापूर्वक पालना गर्न समेत गाउँपालिकाले अनुरोध गरेको छ ।
विपद्को सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्थानीयबासीले आफू सुरक्षित रहनेसँगै परिवार तथा समुदायका अन्य सदस्यलाई समेत जोखिमबारे सचेत गराउन गाउँपालिकाले आग्रह गरेको छ ।
गौमुल गाउँपालिकाले वर्षायामभर बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्को जोखिमप्रति सचेत रहँदै सम्भावित क्षति न्यूनीकरणका लागि सबै पक्षलाई जिम्मेवार र सतर्क रहन अनुरोध गरेको छ ।





प्रतिक्रिया