बाजुरा ः जिल्ला प्रहरी कार्यालय, बाजुराले प्रहरी कर्मचारीको शारीरिक तथा मानसिक स्फूर्ति अभिवृद्धि गर्नुका साथै सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै गाँजा फडानी तथा बडीमालिका मन्दिर सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ।
जिल्ला प्रहरी कार्यालय, बाजुराका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक शैलेश्वरी बोहराको नेतृत्वमा शनिबार आयोजित कार्यक्रममा प्रहरी कर्मचारीहरुले नेचर वाकसँगै सार्वजनिक स्थानमा अवैध रुपमा उम्रिएको गाँजा फडानी गरेका हुन्।
प्रहरी कर्मचारीको मनोबल उच्च राख्ने, शारीरिक तथा मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने र समुदायप्रतिको प्रहरीको जिम्मेवारीलाई थप सुदृढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
कार्यक्रम अन्तर्गत मार्तडी क्षेत्रमा प्राकृतिक वातावरणमा नेचर वाक गर्नुका साथै अवैध रूपमा उम्रिएका गाँजाका बोटहरु फडानी गरिएको थियो। त्यसपछि मार्तडीस्थित ऐतिहासिक एवं धार्मिक महत्व बोकेको बडीमालिका मन्दिर परिसरमा सरसफाइ गरिएको थियो।
सामाजिक विकृति तथा लागू औषध नियन्त्रणमा प्रहरीको नियमित भूमिकासँगै धार्मिक तथा सार्वजनिक स्थलको संरक्षण र सरसफाइमा समेत प्रहरीको सक्रिय सहभागिता हुनुपर्ने सन्देश कार्यक्रमले दिएको छ।
प्रहरी कर्मचारीहरुलाई कर्तव्य निर्वाहमा थप ऊर्जाशील बनाउने र समुदायसँगको सम्बन्धलाई अझ मजबुत बनाउने उद्देश्यले यस्ता गतिविधिलाई निरन्तरता दिइने प्रहरी नायव उपरीक्षक बोहराले बताउनुभएको छ।
अपराध नियन्त्रणसँगै समाज र सम्पदाको संरक्षणमा प्रहरीको सक्रिय सहभागिताले प्रहरी-समुदाय सम्बन्धलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।





प्रतिक्रिया