बाजुरा ः नेपाली कांग्रेसभित्र आगामी राजनीतिक दिशा र पार्टीको एकताका विषयमा बहस चर्किरहेका बेला बाजुरामा देउवा पक्ष तथा इतर पक्षका नेता-कार्यकर्ताको भेला आयोजना गरिएको छ।
आगामी साउन २९ गते काठमाडौंमा हुने केन्द्रीय भेलालाई केन्द्रित गर्दै जिल्लामा नेता-कार्यकर्ताबीच छलफल तथा अन्तरक्रिया गरिएको हो। भेलामा सहभागी नेताहरुले पार्टीभित्र देखिएका असमझदारी र विवादलाई संवाद मार्फत समाधान गर्दै नेपाली कांग्रेसलाई फुटबाट जोगाउन सबै पक्ष जिम्मेवार भएर भूमिका खेल्नुपर्नेमा जोड दिएका छन्।
कार्यक्रममा बोल्ने अधिकांश नेता-कार्यकर्ताले व्यक्तिगत तथा गुटगत स्वार्थ भन्दा माथि उठेर पार्टीको संगठन, एकता र भविष्यलाई प्राथमिकतामा राख्नुपर्ने बताएका थिए। उनीहरुले पार्टी कमजोर बनाउने गतिविधिले कांग्रेसको समग्र राजनीतिक शक्तिमै असर पार्ने भन्दै एकताका लागि नेतृत्वदेखि कार्यकर्तासम्म गम्भीर बन्नुपर्ने धारणा राखेका छन्।
भेलामा नेपाली कांग्रेस बाजुराका पूर्व सभापति कविराज पण्डित, केन्द्रीय प्रतिनिधि तथा बझाङका पूर्व सभापति हर्कजंग सिंह, नेता धनराज पण्डित, साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र कुँवर, प्रकाश रावल, पार्वती हमाल, धनलाल पाध्याय लगायत नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो।
भेलाले आगामी काठमाडौं केन्द्रीय भेलामा बाजुराबाट पार्टीको एकता, संगठन सुदृढीकरण र पार्टीलाई विभाजनबाट जोगाउने विषयलाई प्राथमिकताका साथ उठाउने विषयमा समेत छलफल गरेको जनाइएको छ।





प्रतिक्रिया