बाजुरा ः कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणसँग जोडिएको गाली बेइज्जती मुद्दामा दोषी ठहर भएका पत्रकार खेम भण्डारी एक महिना कैद भुक्तान गरेर कारागारमुक्त भएका छन्।
जिल्ला अदालत कञ्चनपुरको आदेशअनुसार गाली बेइज्जती कसुरमा एक महिना कैद भुक्तान गरेपछि भण्डारी शुक्रबार कारागारबाट रिहा भएका हुन्।
उच्च अदालतको आदेशअनुसार थप सात दिन कैद भुक्तान गर्नुपर्ने भए पनि उनले कुल एक महिना कैद सजाय भोगेको जनाइएको छ। उनले यस मुद्दामा १२ हजार रुपैयाँ जरिवानासमेत तिरेका छन्।
कारागारबाट रिहा भएपछि भण्डारीले सामाजिक सञ्जालमार्फत आफू जेलमुक्त भएको जानकारी दिँदै साँझ ४ बजे पत्रकार महासंघको हलमा भेट्न आग्रह गरेका छन्। उनले त्यहाँ आफूले नयाँ खुलासा गर्ने दाबीसमेत गरेका छन्।
कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश राजेन्द्रसिंह भण्डारीको इजलासले मानसखण्ड दैनिकका सम्पादकसमेत रहेका भण्डारीलाई गाली बेइज्जतीको कसुरमा दोषी ठहर गर्दै एक महिना कैद र १२ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। त्यसपछि उच्च अदालतले थप सात दिन कैद सजाय तोकेको थियो।
निर्मला पन्त प्रकरणमा आफूलाई तथ्यहीन रूपमा जोडेर समाचार प्रकाशित गरेको आरोप लगाउँदै कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख दिल्लीराज विष्टका छोरा किरण विष्टले भण्डारीविरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गरेका थिए।
२०७५ साल साउन १० गते साथीको घरमा पढ्न जाने भन्दै घरबाट निस्किएकी १३ वर्षीया निर्मला पन्त भोलिपल्ट भीमदत्त नगरपालिका क्षेत्रमा पर्ने निम्बुखेडा खोला किनारको उखुबारीमा मृत अवस्थामा भेटिएकी थिइन्।
निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धान लामो समयदेखि जारी रहे पनि घटनाका मुख्य आरोपीको पहिचान तथा कानुनी कारबाही अझै हुन सकेको छैन। घटनाले देशभर ठूलो चर्चा र विरोध सिर्जना गरेको थियो।





प्रतिक्रिया