बाजुरा ः गौमुल गाउँपालिका-६ का सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने ८३ जना लाभग्राहीलाई समयमै बायोमेट्रिक नवीकरण गराउन वडा कार्यालयले आग्रह गरेको छ।
नेपाल सरकार, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको निर्देशन अनुसार सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको बायोमेट्रिक नवीकरण कार्य सञ्चालन भइरहेको भएपनि वडा नं. ६ का केही लाभग्राहीले हालसम्म नवीकरण नगरेको पाइएको वडा कार्यालयले जनाएको छ।
वडा कार्यालयका अनुसार गाउँपालिकाको पञ्जीकरण शाखा मार्फत सञ्चालन भइरहेको बायोमेट्रिक नवीकरण कार्य २०८३ साल साउन २१ गतेपछि सञ्चालन नहुने भएकाले नवीकरण गर्न बाँकी रहेका सबै लाभग्राहीलाई तोकिएको समयभित्र आवश्यक कागजात सहित वडा कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको हो।
वडा नं. ६ मा बायोमेट्रिक नवीकरण गर्नुपर्ने लाभग्राहीमध्ये ज्येष्ठ नागरिक अन्य १७ जना, ज्येष्ठ नागरिक दलित ४ जना, ज्येष्ठ नागरिक एकल महिला ५ जना, विधवा १० जना, पूर्ण अपाङ्गता भएका १ जना, तोकिएका बालबालिका ३८ जना र दलित बालबालिका ८ जना रहेका छन्।
वडा अध्यक्ष प्रकाश रोकायाले सामाजिक सुरक्षा भत्ता नियमित रूपमा प्राप्त गर्न बायोमेट्रिक नवीकरण आवश्यक रहेकाले अझै नवीकरण गर्न बाँकी रहेका लाभग्राहीलाई ढिलाइ नगरी वडा कार्यालयमा उपस्थित हुन आग्रह गरेका छन्। समयमै नवीकरण नगर्दा आगामी भुक्तानी प्रक्रियामा समस्या आउन सक्ने भएकाले यस विषयलाई गम्भीरतापूर्वक लिन उनले अनुरोध गरेका छन्।
वडा कार्यालयका कर्मचारी दीपेन्द्र रोकायाका अनुसार हालसम्म नवीकरण गर्न छुटेका लाभग्राहीको विवरण संकलन भइरहेको छ। उनले आवश्यक कागजातसहित वडा कार्यालयमा सम्पर्क गरी बायोमेट्रिक नवीकरण गराउन आग्रह गर्दै नवीकरण सम्बन्धी कुनै अन्योल भएमा वडा कार्यालयबाट आवश्यक जानकारी लिन सकिने बताए।
वडा कार्यालयले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने ज्येष्ठ नागरिक, एकल महिला, विधवा, अपाङ्गता भएका व्यक्ति, तोकिएका बालबालिका, दलित बालबालिका तथा अन्य सबै लाभग्राहीलाई तोकिएको समयसीमाभित्र बायोमेट्रिक नवीकरण सम्पन्न गरी आगामी सामाजिक सुरक्षा भत्ता प्राप्तिमा आउन सक्ने सम्भावित समस्या रोक्न अनुरोध गरेको छ।





प्रतिक्रिया