बाजुरा : बाजुराको स्वास्थ्य सेवा सुदृढीकरणका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष चारबुँदे माग सहित ज्ञापनपत्र बुझाइएको छ।
बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य हेमराज थापाको नेतृत्वमा गएको टोलीले मन्त्रालयमा ज्ञापनपत्र बुझाउँदै बाजुराको दुर्गम भौगोलिक अवस्था, सीमित स्वास्थ्य पूर्वाधार, विशेषज्ञ चिकित्सकको अभाव तथा अत्यावश्यक स्वास्थ्य उपकरणको कमीका कारण जिल्लावासी गुणस्तरीय स्वास्थ्य सेवाबाट वञ्चित हुनुपरेको जनाएको छ।
ज्ञापनपत्रमा सामान्य रोगदेखि जटिल प्रकृतिका बिरामीसमेत समयमै उपचार नपाउँदा जिल्ला बाहिर रेफर हुनुपर्ने, कतिपय अवस्थामा उपचारको अभावमै ज्यान गुमाउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै यसको दीर्घकालीन समाधानका लागि तत्काल आवश्यक कदम चाल्न सरकारसँग आग्रह गरिएको छ।
टोलीले जिल्ला अस्पताल बाजुरामा कम्तीमा दुई जना एमडीजीपी चिकित्सक, एक जना बालरोग विशेषज्ञ, एक जना एनेस्थेसिया विशेषज्ञ वा एनेस्थेसिया सहायक, आवश्यक मेडिकल अधिकृत तथा अपरेशन थिएटर (ओटी) नर्सको तत्काल व्यवस्थापन गर्न माग गरेको छ।
साथै आकस्मिक शल्यक्रिया, सिजेरियन सेवा तथा नवजात शिशु उपचार सेवा नियमित रूपमा सञ्चालन हुने वातावरण सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।
त्यस्तै, बाजुराको विकट भूगोललाई ध्यानमा राख्दै अक्सिजन तथा अन्य जीवनरक्षक उपकरणसहितको ४×४ लाइफ सपोर्ट एम्बुलेन्स उपलब्ध गराउन, जिल्ला स्तरीय ब्लड बैंक स्थापना गर्न तथा जिल्ला अस्पतालमा विशेष स्वास्थ्य सेवा सञ्चालनका लागि आवश्यक उपकरण, औषधि, जनशक्ति र स्रोत–साधनको व्यवस्था गर्न पनि ज्ञापनपत्रमार्फत माग गरिएको छ।
ज्ञापनपत्रमा स्वास्थ्य सेवा नागरिकको मौलिक अधिकार भएकाले बाजुरावासीले पनि सहज, सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउने सुनिश्चितता गर्न सरकारसँग आग्रह गरिएको छ। प्रस्तुत मागहरूमा मन्त्रालयले आवश्यक निर्णय गरी शीघ्र कार्यान्वयन गर्ने अपेक्षा व्यक्त गरिएको छ।





प्रतिक्रिया