गाैमुल खबर डटकम बिहीबार २१, साउन २०८३ ०३:०३

स्वामीकार्तिकमा काँचो स्याउ विक्रीमा रोक

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, साउन २०, २०८३
स्वामीकार्तिकमा काँचो स्याउ विक्रीमा रोक

बाजुरा ःबाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाले काँचो स्याउ टिपेर विक्री-वितरण नगर्न किसानहरुलाई आग्रह गरेको छ । गाउँपालिकाको कृषि विकास शाखाले सूचना जारी गर्दै स्याउको गुणस्तर, स्वाद तथा बजारको विश्वसनीयता कायम राख्न २०८३ साल भदौ १५ गतेपछि मात्र स्याउ टिपी विक्री-वितरण गर्न किसान तथा व्यापारीलाई निर्देशन दिएको हो ।

गाउँपालिकाका अनुसार पछिल्लो समय केही किसानले पर्याप्त नपाकेको काँचो स्याउ टिपेर बजारमा विक्री गर्न थालेपछि उपभोक्ताले गुणस्तरीय स्याउ नपाउने, स्थानीय उत्पादनप्रतिको विश्वास घट्ने तथा दीर्घकालीन रूपमा स्याउको पहिचान र बजारमा नकारात्मक असर पर्न सक्ने भन्दै यस्तो निर्णय गरेको जनाएको छ ।

कृषि विकास शाखा र पालिकामा कार्यरत विभिन्न परियोजनाका प्राविधिक टोलीले स्याउ बगैंचाहरुमा रिर्फ्याक्टोमिटर मार्फत परीक्षण गर्दा अधिकांश स्याउमा आवश्यक मिठास र गुणस्तर विकास नभएको पाइएको सूचनामा उल्लेख गरिएको छ ।

गाउँपालिकाले तोकिएको समयअघि स्याउ टिपेर विक्री-वितरण गरेको प्रमाणित भएमा प्रचलित कानुन तथा गाउँपालिकाको निर्णय अनुसार सम्बन्धित किसान वा व्यापारीलाई कृषि तथा अन्य सम्बन्धित सेवासुविधामा रोक लगाउन सकिने चेतावनी दिएको छ ।

साथै किसान, व्यापारी तथा सरोकारवाला निकायलाई गुणस्तरीय स्याउ उत्पादन र बजारीकरणमा सहयोग गर्न तथा समयभन्दा अघि स्याउ नटिप्न आग्रह गरेको छ ।

यसबाट स्वामीकार्तिकको स्याउको गुणस्तर जोगाउँदै उपभोक्तालाई मिठासयुक्त र गुणस्तरीय उत्पादन उपलब्ध गराउने अपेक्षा गरिएको गाउँपालिकाले जनाएको छ ।
 

प्रतिक्रिया