गाैमुल खबर डटकम बुधबार २४, भदौ २०८३ १२:४०

मार्तडी बजारमा अब प्रत्येक महिनाको १५ गते बजार बन्द, उल्लङ्घन गर्नेलाई ५ हजार जरिवाना

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, साउन १४, २०८३
मार्तडी बजारमा अब प्रत्येक महिनाको १५ गते बजार बन्द, उल्लङ्घन गर्नेलाई ५ हजार जरिवाना

बाजुरा ःमार्तडी बजारलाई स्वच्छ, व्यवस्थित तथा हरित बजारका रुपमा विकास गर्ने उद्देश्यले मार्तडी बजार व्यवस्थापन समितिले प्रत्येक महिनाको १५ गते बजार बन्द गर्ने निर्णय गरेको छ।

मार्तडी बजार व्यवस्थापन समितिको पुनर्गठनपछि बसेको बैठकले बजार बन्दको दिनलाई सरसफाइ अभियानसँग जोड्दै व्यवसायी तथा सम्बन्धित सबैलाई अभियानमा सक्रिय सहभागिता जनाउन आग्रह गरेको हो।

समितिका अनुसार औषधि पसल र होटल भने दिनभर खुला रहनेछन्। तरकारी पसल बिहान ६ बजेदेखि ९ बजेसम्म र बेलुका ४ बजेदेखि ७ बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ। उल्लेखित समय बाहेक अन्य सबै पसल पूर्ण रुपमा बन्द गर्नुपर्ने निर्णय गरिएको छ।

समितिले निर्णय उल्लङ्घन गर्ने व्यवसायीलाई प्रतिपटक ५ हजार रुपैयाँ जरिवाना गर्ने जनाएको छ। यसैगरी, यहीँ साउन १५ गते भाेली सञ्चालन हुने सरसफाइ अभियानमा जिल्ला प्रशासन कार्यालय, बडीमालिका नगरपालिका, उद्योग वाणिज्य संघ, जिल्ला प्रहरी कार्यालय, ईश्वरी गुल्म मार्तडी, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला खानेपानी व्यवस्थापन उपभोक्ता समिति मार्तडी लगायत सम्बन्धित निकाय तथा सम्पूर्ण व्यवसायीलाई उपस्थित भई अभियानमा सहयोग गर्न आग्रह गरिएको छ।

मार्तडी बजार व्यवस्थापन समितिका अध्यक्ष नवराज पाध्यायले बजारलाई सफा, सुन्दर र व्यवस्थित बनाउने अभियानमा सबै व्यवसायी तथा सरोकारवालाको सहयोग आवश्यक रहेको बताएका छन्।

उनका अनुसार बजार बन्द गर्ने निर्णय केवल पसल बन्द गर्ने उद्देश्यले नभई नियमित सरसफाइ, बजार व्यवस्थापन र स्वच्छ वातावरण निर्माणका लागि गरिएको हो।

प्रतिक्रिया