बाजुरा ः गौमुल गाउँपालिका-१ अम्लिसमा रहेकाे कैलाशकोटमा महिला जागरुकता तथा विपद् जोखिम न्यूनीकरण सम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आमा समूहका दिदीबहिनीहरुसँग भेटघाट तथा छलफल गरिएको छ।
गौमुल गाउँपालिका कार्यपालिका सदस्य मैना चँदाराको पहलमा वडाका आमा समूहमा आबद्ध महिलाहरुसँग बर्खायाममा हुनसक्ने बाढी, पहिरो तथा अन्य विपद्का जोखिमबाट सुरक्षित रहने विषयमा जानकारी तथा सचेतनामूलक छलफल गरिएको हो।
भेटघाटका क्रममा चँदाराले वर्षायाममा बाढी, पहिरो लगायतका विपद्को जोखिम बढ्ने भएकाले आफू, आफ्नो परिवार तथा समुदायको सुरक्षाप्रति विशेष सजग र सचेत रहन आमा समूहका दिदीबहिनीहरुलाई आग्रह गरेकी छन् ।
उनले विपद् आउनु अघि नै सम्भावित जोखिम पहिचान गर्ने, आवश्यक सावधानी अपनाउने तथा आपत्कालीन अवस्थामा एक-अर्कालाई सहयोग गर्ने संस्कारको विकास गर्नुपर्नेमा जोड दिएकी हुन् ।
त्यसैगरी, महिला घरपरिवारको जिम्मेवारीमा सीमित नभई समुदायको सुरक्षा, सचेतना र सामाजिक रुपान्तरणमा समेत अग्रणी भूमिका निर्वाह गर्न सक्ने शक्ति भएको विषयमा समेत छलफल गरिएको थियो।
महिलाहरुको सक्रिय सहभागिता र सामूहिक एकताले विपद् व्यवस्थापनदेखि सामाजिक विकाससम्म महत्वपूर्ण योगदान पुर्याउन सक्ने भन्दै आमा समूहका दिदीबहिनीहरुले पनि समुदायमा सचेतना फैलाउने र जोखिमका समयमा एकताबद्ध भएर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
भेटघाटपछि आमा समूहको बैठक समेत बसेर आवश्यक छलफल तथा निर्णय गर्दै कार्यक्रम समापन गरिएको छ। “सचेत महिला, सुरक्षित परिवार र विपद्सँग जुध्न सक्षम समुदाय” निर्माण गर्ने उद्देश्य सहित गरिएको यस्तो पहलले गौमुलका ग्रामीण महिलाहरुमा बढ्दो जागरुकता र सामाजिक नेतृत्वको भूमिकालाई थप उजागर गरेको छ।





प्रतिक्रिया