गाैमुल खबर डटकम बुधबार २४, भदौ २०८३ १२:४०

गौमुल-६ मा विपद् जोखिम न्यूनीकरणमा जोड, बाढी-पहिरो प्रभावित ८ परिवारलाई राहत दिने निर्णय

बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, साउन १२, २०८३
गौमुल-६ मा विपद् जोखिम न्यूनीकरणमा जोड, बाढी-पहिरो प्रभावित ८ परिवारलाई राहत दिने निर्णय

बाजुरा ः गौमुल गाउँपालिका-६ को वडा समितिको बैठकले निरन्तर भइरहेको वर्षाका कारण वडाका विभिन्न बस्तीमा बाढी तथा पहिरोको जोखिम बढेको भन्दै स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

२०८३ साल साउन ८ गते बसेको वडा समितिको बैठकले प्राकृतिक विपद्को सम्भावित जोखिमलाई मध्यनजर गर्दै वडाबसीलाई संयमित र सतर्क भएर बस्न आग्रह गर्ने निर्णय गरेको हो।

बैठकले वडाका कुनै पनि टोलमा बाढी, पहिरो वा अन्य प्राकृतिक विपद् भएमा तत्काल वडा सदस्य, महिला स्वास्थ्य स्वयंसेविका, विपद् टोल सञ्चार फोकल सदस्य, वडा अध्यक्ष तथा वडा कार्यालयमा जानकारी गराउन आग्रह गरेको छ। साथै, आवश्यक परे गौमुल गाउँपालिका तथा इलाका प्रहरी कार्यालय गौमुलमा समेत सूचना उपलब्ध गराउने व्यवस्था मिलाउने निर्णय गरिएको छ।

यसैगरी, चालु श्रावण महिनामै बाढी तथा पहिरोबाट प्रभावित वा उच्च जोखिममा रहेका ८ घरपरिवारलाई राहत उपलब्ध गराउने र थप राहतका लागि गौमुल गाउँपालिकासँग समन्वय गर्ने निर्णय पनि बैठकले गरेको छ।

बैठकले गौमुल गाउँपालिका-६ मा कार्यरत प्राविधिक बमबहादुर रोकायाकी ममतामयी आमा स्वर्गीय धना रोकायाको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ।

वडा अध्यक्ष प्रकाश रोकायाको अध्यक्षतामा सम्पन्न बैठकका निर्णयबारे वडा कार्यालयका कर्मचारी दीपेन्द्र रोकायाले जानकारी दिएका हुन्।

प्रतिक्रिया