गाैमुल खबर डटकम बिहीबार २१, साउन २०८३ ०३:०३

बाजुरामा विपी स्मृति दिवस दुई धारमा : गगन-देउवा पक्षले छुट्टाछुट्टै कार्यक्रम गरे

एउटै नेताको स्मृतिमा फरक मञ्च, कांग्रेसभित्रको आन्तरिक ध्रुवीकरण सतहमा
बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, साउन ०६, २०८३
बाजुरामा विपी स्मृति दिवस दुई धारमा : गगन-देउवा पक्षले छुट्टाछुट्टै कार्यक्रम गरे

बाजुरा ःनेपाली कांग्रेसका संस्थापक नेता तथा नेपालको लोकतान्त्रिक आन्दोलनका अग्रणी व्यक्तित्व स्वर्गीय विश्वेश्वरप्रसाद (विपी) कोइरालाको स्मृति दिवस बाजुरामा यस वर्ष पनि कांग्रेसका दुई पक्षले छुट्टाछुट्टै कार्यक्रम आयोजना गर्दै मनाएका छन्।

एउटै नेताको योगदानको सम्मान गर्ने उद्देश्य भए पनि फरक-फरक स्थानमा कार्यक्रम आयोजना गरिनुले जिल्लामा कांग्रेसभित्रको आन्तरिक ध्रुवीकरण पुनः छर्लङ्ग भएको छ।

शेरबहादुर देउवा निकट समूहले जिल्ला अस्पताल बाजुराको परिसरमा वृक्षारोपण गरेर विपीको स्मृति दिवस मनायो। यता सभापति गगनकुमार थापा निकट समूहले विपी स्मृति भवनमा वृक्षारोपण गर्नुका साथै विपी कोइरालाको तस्बिरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेको थियो।

दुवै कार्यक्रममा वक्ताहरूले विपी कोइरालाले नेपाली राजनीतिमा पुर्‍याएको ऐतिहासिक योगदान, लोकतन्त्र स्थापनाका लागि गरेको संघर्ष, राष्ट्रिय एकता, समाजवाद तथा लोकतान्त्रिक मूल्य-मान्यताको संरक्षणमा खेलेको भूमिकाको चर्चा गरेका थिए।

नेताहरूले विपीका विचार आज पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गर्दै ती आदर्शलाई व्यवहारमा उतार्नु नै उहाँप्रतिको सच्चा सम्मान हुने बताएका छन्।

थापा निकट समूहले आयोजना गरेको कार्यक्रममा नेता-कार्यकर्ताको उल्लेख्य सहभागिता देखिएको थियो। कार्यक्रममा बोल्ने नेताहरूले पार्टीलाई थप सुदृढ, लोकतान्त्रिक र जनमुखी बनाउन युवाको भूमिका निर्णायक हुने बताए। संगठनलाई एकताबद्ध बनाएर जनविश्वास अझ मजबुत बनाउनुपर्नेमा समेत उनीहरूले जोड दिएका थिए।

उता, देउवा निकट समूहले आयोजना गरेको कार्यक्रममा पनि विपी कोइरालाको राजनीतिक योगदानको स्मरण गर्दै पार्टीभित्र आपसी सहकार्य, अनुशासन र संगठनात्मक एकतालाई थप मजबुत बनाउनुपर्ने आवश्यकता औँल्याइएको थियो। कांग्रेसलाई बलियो बनाउन सबै नेता तथा कार्यकर्ता साझा उद्देश्यका साथ एकजुट हुनुपर्ने धारणा वक्ताहरूले राखेका थिए।

एउटै उद्देश्य र एउटै महान् नेताको स्मृतिमा कार्यक्रम आयोजना गरिए पनि फरक-फरक रूपमा कार्यक्रम सम्पन्न हुनु कांग्रेसभित्रको आन्तरिक शक्ति-सन्तुलन र समूहगत समीकरणको प्रतिबिम्बका रूपमा हेरिएको छ।

यस घटनाले जिल्लाको राजनीतिक वृत्तमा समेत विभिन्न टिकाटिप्पणी जन्माएको छ। कतिपयले यसलाई पार्टीभित्रको स्वाभाविक प्रतिस्पर्धा मानेका छन् भने अर्का थरीले यसले संगठनात्मक एकतामा दीर्घकालीन असर पार्न सक्ने टिप्पणी गरेका छन्।

यद्यपि दुवै पक्षका नेताहरूले कार्यक्रम अलग-अलग भए पनि उद्देश्य एउटै रहेको बताएका छन्। उनीहरूका अनुसार विपी कोइरालाको लोकतान्त्रिक विचार, राजनीतिक आदर्श र योगदानलाई सम्मान गर्दै नयाँ पुस्तामाझ उहाँको दर्शन र संघर्षको सन्देश पुर्‍याउनु नै कार्यक्रमको मूल लक्ष्य हो।

प्रतिक्रिया