बाजुरा ः बाजुराको गौमुल गाउँपालिका-४ नम्बर वडाले आर्थिक वर्ष २०८३/०८४ को पहिलो वडा समिति बैठक सम्पन्न गर्दै नागरिकलाई गुणस्तरीय, सहज र उत्तरदायी सेवा प्रदान गर्ने प्रतिबद्धता दोहोर्याएको छ ।
वडा अध्यक्ष अमर विकको अध्यक्षतामा सम्पन्न बैठकले सामाजिक सुरक्षा भत्ता लाभग्राहीहरुको समयमै नवीकरण सुनिश्चित गर्न प्रभावकारी सूचना प्रवाह गर्ने, आर्थिक वर्ष २०८३/०८४ मा सञ्चालन भएका कार्यक्रम तथा बजेटको विस्तृत विवरण तयार गर्ने, वर्षायाममा हुन सक्ने सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक पूर्वतयारी तथा सरोकारवालाबीच समन्वय सुदृढ गर्ने विषयलाई प्राथमिकतामा राखेर छलफल गरेको छ ।
बैठकमा वडा कार्यालयबाट प्रवाह हुने सार्वजनिक सेवालाई थप पारदर्शी, प्रभावकारी, सेवामैत्री, उत्तरदायी र नागरिकमैत्री बनाउने विषयमा समेत विस्तृत समीक्षा गर्दै सेवा प्रवाहमा देखिएका चुनौती समाधान गर्ने र नागरिकले सहज रूपमा सेवा प्राप्त गर्ने वातावरण सिर्जना गर्ने विषयमा आवश्यक निर्णय गरिएको जनाइएको छ ।
वडा अध्यक्ष अमर विकले जनप्रतिनिधिको पहिलो दायित्व नागरिकको विश्वास जित्नु भएको उल्लेख गर्दै वडा कार्यालयलाई जनताको सबैभन्दा नजिकको र भरोसा योग्य सेवा केन्द्रका रुपमा विकास गर्न आफू र आफ्नो टोली निरन्तर क्रियाशील रहने बताएका छन् ।
उनले सामाजिक सुरक्षा भत्ता, विकास निर्माण, विपद् व्यवस्थापन तथा दैनिक प्रशासनिक सेवामा कुनै पनि नागरिकले अनावश्यक सास्ती भोग्न नपरोस् भन्ने उद्देश्यका साथ वडा कार्यालयले थप जिम्मेवार, पारदर्शी र परिणाममुखी ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
वडा कार्यालयले “जनताको सेवा नै हाम्रो पहिलो धर्म“ भन्ने भावनाका साथ प्रत्येक नागरिकको सहज पहुँचमा पुग्ने, सुशासनलाई संस्थागत गर्ने तथा जनअपेक्षा अनुसार सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउँदै लैजाने विश्वास समेत व्यक्त गरेको छ ।





प्रतिक्रिया