बाजुरा ः गौमुल गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि सामाजिक सुरक्षा भत्ता निरन्तर प्राप्त गर्न सबै लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता परिचयपत्र अनिवार्य रुपमा नवीकरण गर्न आग्रह गरेको छ ।
गाउँपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाले सार्वजनिक गरेको अत्यन्त जरुरी सूचना अनुसार, सामाजिक सुरक्षा ऐन तथा नियमावली बमोजिम प्रत्येक आर्थिक वर्षको साउन महिनाभित्र सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने व्यक्तिले आफ्नो परिचयपत्र नवीकरण गर्नुपर्ने व्यवस्था रहेको छ ।
सोही व्यवस्था अनुसार गाउँपालिकाले सबै लाभग्राहीलाई सम्बन्धित वडा कार्यालयमा स्वयं उपस्थित भई परिचयपत्र नवीकरण गर्न अनुरोध गरेको हो । सूचना अनुसार नवीकरणका लागि लाभग्राहीको वर्ग अनुसार आवश्यक कागजात पेश गर्नुपर्नेछ ।
ज्येष्ठ नागरिक, एकल महिला, विधवा, अपाङ्गता भएका व्यक्ति तथा बालबालिकाले हालसालै खिचिएको पासपोर्ट साइजको फोटो, नागरिकता, जन्मदर्ता, अपाङ्गता परिचयपत्र वा सम्बन्धित प्रमाणपत्र लगायतका आवश्यक कागजात साथमा ल्याउनुपर्ने भएको छ ।
गाउँपालिकाले तोकिएको अवधिभित्र परिचयपत्र नवीकरण नगरेमा आगामी आर्थिक वर्षको सामाजिक सुरक्षा भत्ता वितरणमा समस्या आउन सक्ने भएकाले सबै लाभग्राहीलाई समयमै प्रक्रिया पूरा गर्न विशेष आग्रह गरेको छ ।
सामाजिक सुरक्षा भत्ता नवीकरण सम्बन्धी थप जानकारीका लागि सम्बन्धित वडा कार्यालय वा गौमुल गाउँपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखामा सम्पर्क गर्न पनि गाउँपालिकाले अनुरोध गरेको छ ।





प्रतिक्रिया