बाजुरा ःबाजुराको बुढीगंगा नगरपालिकाले वर्षायाममा हुन सक्ने प्राकृतिक विपद् तथा जोखिम न्यूनीकरणलाई मध्यनजर गर्दै नगर क्षेत्रभित्र नदीजन्य वस्तुको उत्खननमा पूर्ण रोक लगाएको छ ।
प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारीद्वारा जारी सूचना अनुसार नगरभित्रका नदी तथा खोलाबाट ढुंगा, गिटी, बालुवा लगायत नदीजन्य सामग्री निजी वा सार्वजनिक प्रयोजनका लागि उत्खनन, ओसारपसार तथा संकलन गर्न निषेध गरिएको हो ।
नगरपालिकाले वर्षाको समयमा नदीजन्य वस्तुको अनियन्त्रित उत्खननले बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्को जोखिम बढ्ने भएकाले यस्तो निर्णय गरिएको जनाएको छ ।
सूचनाको अवज्ञा गर्दै उत्खनन वा ओसारपसार गरेको पाइए प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी समेत दिइएको छ ।
नगरपालिकाले उक्त निर्णय प्रभावकारी कार्यान्वयनका लागि वडा कार्यालयहरुका साथै बार्जुगाड, रिठ्ठा र बल्दे प्रहरी चौकीलाई समेत बोधार्थ पठाएको छ ।
यस निर्णयसँगै वर्षायामभर नदीजन्य स्रोतको संरक्षण गर्दै सम्भावित प्राकृतिक विपद्को जोखिम न्यूनीकरणमा सहयोग गर्न नगरपालिकाले सबै सरोकारवालासँग आग्रह गरेको छ ।






प्रतिक्रिया