धनगढी ःनेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुदूरपश्चिम प्रदेश सरकारको बजेटका विषयमा सत्ता साझेदार नेकपा (एमाले) सँग थप छलफल र परामर्श गरेर सहमतिका आधारमा अघि बढ्न मुख्यमन्त्री कमलबहादुर शाहलाई सुझाव दिएका छन् ।
बजेट विवादलगायतका विषयमा पार्टी नेतृत्वसँग छलफल गर्न काठमाडौँ पुगेका मुख्यमन्त्री शाहसँगको भेटमा सभापति थापाले कांग्रेस-एमाले गठबन्धनको भावनाअनुरूप सहमति र समन्वयका साथ अघि बढ्नुपर्नेमा जोड दिएका हुन् ।
सुदूरपश्चिम प्रदेश सरकारले असार १ गते प्रस्तुत गरेको ३७ अर्ब ७० करोड रुपैयाँको बजेट विवादमा परेको छ । सत्ता गठबन्धनमै रहेको एमालेले बजेटप्रति तीव्र असन्तुष्टि जनाउँदै प्रदेश सभामा खर्च कटौतीको प्रस्ताव दर्ता गरिसकेको छ।
मुख्यमन्त्री शाह बजेटसम्बन्धी विवाद समाधानका लागि कार्यदल गठन गर्न तयार रहेको जनाएका छन्, भने एमालेले बजेट पुनर्लेखन हुनुपर्ने अडान कायमै राखेको छ ।
सभापति थापाले बजेट विवादलाई संवाद, सहमति र समन्वयमार्फत समाधान गर्दै गठबन्धनलाई थप प्रभावकारी ढङ्गले अघि बढाउनुपर्ने धारणा व्यक्त गरेका थिए ।
उपसभापति विश्वप्रकाश शर्मासमेत उपस्थित उक्त भेटमा गठबन्धनलाई थप गतिशील बनाउने विषयमा पनि छलफल भएको थियो। भेटमा नेपाली कांग्रेसका सांसद दिवानसिंह विष्ट पनि सहभागी थिए ।





प्रतिक्रिया