बाजुरा ः बाजुराको हिमाली गाउँपालिका-६ धुलाचौरमा आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ । नेपाल रेडक्रस सोसाइटी, सुर्खेत आँखा अस्पताल र च्यारिटी फाउन्डेसनको साझेदारी तथा हिमाली गाउँपालिकाको समन्वयमा स्थापना गरिएको उक्त केन्द्रबाट उद्घाटनकै दिन सयभन्दा बढी स्थानीयले निःशुल्क आँखा परीक्षण तथा उपचार सेवा लिएका छन् ।
दुर्गम बस्तीका नागरिकलाई गाउँमै सहज रुपमा आँखा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले केन्द्र स्थापना गरिएको हो । यसअघि सामान्य आँखा उपचारका लागि समेत स्थानीयले कोल्टी अस्पतालसम्म पुग्नुपर्ने बाध्यता थियो । हिमाली गाउँपालिका-६ धुलाचौरकी स्थानीय लालमती नेपालीले गाउँमै आँखा उपचार केन्द्र स्थापना भएपछि वर्षौँदेखिको समस्या समाधान भएको बताइन् ।
उनले भनिन्, “पहिला सामान्य आँखा समस्या हुँदा पनि कोल्टी जानुपर्थ्याे। आर्थिक अवस्था कमजोर भएकाले उपचार गराउन निकै कठिन थियो । अहिले गाउँमै सेवा सुरु भएपछि हामीलाई धेरै राहत भएको छ ।” उनका अनुसार आँखा उपचारका लागि दुई दिनसम्म पैदल यात्रा गरेर कोल्टी पुग्नुपर्ने अवस्था अब अन्त्य भएको छ ।
हिमाली गाउँपालिकाका सूचना अधिकारी राजबहादुर भण्डारीले गाउँपालिकाका अधिकांश बस्ती भौगोलिक रुपमा अत्यन्त दुर्गम भएकाले सामान्य आँखा समस्याका बिरामीले पनि उपचारका लागि लामो दूरी तय गर्नुपर्ने बाध्यता रहेको बताए ।
हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले भौगोलिक विकटता र कमजोर आर्थिक अवस्थाका कारण यहाँका नागरिक स्वास्थ्य सेवाबाट बञ्चित हुनुपरेको उल्लेख गर्दै गाउँपालिकाले आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारलाई प्राथमिकता दिएको बताए । गाउँपालिकाका अनुसार आँखा उपचार केन्द्र सञ्चालनमा आएपछि दुर्गम बस्तीका नागरिकको समय, श्रम र उपचार खर्चमा समेत उल्लेखनीय बचत हुने अपेक्षा गरिएको छ ।






प्रतिक्रिया