गाैमुल खबर डटकम बुधबार २४, भदौ २०८३ १२:४२

बालमैत्री शासनतर्फ बडीमालिकाको पहल : बाल सञ्जालसँग नागरिक बजेट र योजना प्रक्रियामा छलफल

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, असार २६, २०८३
बालमैत्री शासनतर्फ बडीमालिकाको पहल : बाल सञ्जालसँग नागरिक बजेट र योजना प्रक्रियामा छलफल

बाजुरा ःबडीमालिका नगरपालिका स्तरीय बाल सञ्जालका पदाधिकारीहरुसँग नागरिक सहभागिता नीति, नागरिक बजेट तथा बस्ती-समुदाय स्तरको योजना छनोट प्रक्रियाबारे अन्तरक्रियात्मक छलफल कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा नगर बाल सञ्जालका पदाधिकारीलाई विद्यालय झोला समेत वितरण गरिएको छ।

युरोपियन युनियन र संयुक्त राष्ट्रसंघको सहकार्य, बडीमालिका नगरपालिकाको समन्वय तथा सामाजिक सुरक्षा नागरिक समाज सञ्जाल र निड्स नेपालको आयोजनामा सम्पन्न कार्यक्रममा स्थानीय योजना तथा बजेट निर्माण प्रक्रियामा बालबालिकाको अर्थपूर्ण सहभागितालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल गरिएको हो।

कार्यक्रममा नागरिक बजेटमा बालबालिकाको सहभागिता किन आवश्यक छ, सहभागिता कसरी सुनिश्चित गर्न सकिन्छ र यसको उद्देश्य के हो भन्ने विषयमा अन्तरक्रियात्मक छलफल गरिएको थियो। साथै, बालबालिकाको नेतृत्व क्षमता विकास गर्ने उद्देश्यले नगरपालिकाका गैरसरकारी संस्था फोकल पर्सन कृष्ण खड्काले सहभागी बालबालिकालाई सार्वजनिक रूपमा आफ्नो विचार प्रस्तुत गर्ने अभ्यास गराएका थिए।

नगर प्रमुख अमरबहादुर खड्काको अध्यक्षतामा आयोजित कार्यक्रममा नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृत लोकराज जोशीले संयुक्त रूपमा बाल सञ्जालका पदाधिकारीलाई विद्यालय झोला वितरण गरेका थिए। कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा, बालकल्याण अधिकारी, सामाजिक सुरक्षा नागरिक समाज सञ्जाल, निड्स नेपाल तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै नगर प्रमुख अमर खड्काले बालबालिकाका आवश्यकता, सुझाव र प्राथमिकतालाई नगरपालिकाको योजना तथा बजेट निर्माण प्रक्रियामा समेट्दै आएको बताए। उनले बालअधिकारको संरक्षण, हित प्रवर्द्धन र बालबालिकाको उज्ज्वल भविष्यका लागि नगरपालिका निरन्तर प्रतिबद्ध रहेको उल्लेख गर्दै बालमैत्री कार्यक्रम सञ्चालनमा सहयोग पुर्‍याएकोमा युनिसेफ नेपाल, युरोपियन युनियन, सामाजिक सुरक्षा नागरिक समाज सञ्जाल तथा निड्स नेपालप्रति धन्यवाद व्यक्त गरे।

निड्स नेपालका जिल्ला फिल्ड अफिसर रामदेवि कटुवालले यस्ता कार्यक्रमले बालबालिकालाई स्थानीय शासन, नागरिक बजेट तथा विकास योजनाबारे बुझ्न र आफ्ना विचार प्रभावकारी रूपमा प्रस्तुत गर्न प्रेरित गर्ने बताइन्। उनका अनुसार यस्ता गतिविधिले बालबालिकाको नेतृत्व क्षमता अभिवृद्धि गर्नुका साथै स्थानीय निर्णय प्रक्रियामा उनीहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न महत्वपूर्ण योगदान पुर्‍याउँछन्।

प्रतिक्रिया