बाजुरा ः गौमुल गाउँपालिका-१ अन्तर्गत पर्ने विकट बस्ती अन्द्राडीमा पछिल्लो समय महिलाहरु सामाजिक, स्वास्थ्य तथा नेतृत्व विकासका गतिविधिमा सक्रिय बन्दै गएका छन् ।
गाउँमा गठन गरिएको लगनशील आमा समूहले नियमित मासिक बैठक सञ्चालन गर्दै स्वास्थ्य, पोषण, महिला अधिकार, आर्थिक सशक्तीकरण तथा सामाजिक सचेतनाका विषयमा छलफल गर्न थालेपछि स्थानीय महिलामा सकारात्मक परिवर्तन देखिन थालेको हो ।
महिला स्वास्थ्य स्वयंसेविका कमला धामी (बोहरा) का अनुसार आमा समूहको नियमित बैठकमा गर्भवती तथा सुत्केरी आमाको स्वास्थ्य अवस्था, बालबालिकाको पोषण, स्वास्थ्य बिमाको महत्व, सरसफाइ, परिवार नियोजन, लैङ्गिक समानता, घरेलु हिंसा न्यूनीकरण तथा महिलाको नेतृत्व विकास लगायतका विषयमा विस्तृत छलफल हुने गरेको छ ।
उनका अनुसार बैठकले महिलाहरुलाई आफ्ना समस्या खुलेर राख्ने, सामूहिक रुपमा समाधान खोज्ने र आवश्यक परामर्श प्राप्त गर्ने अवसर समेत उपलब्ध गराएको छ । यसले स्वास्थ्यप्रति चेतना बढाउनुका साथै गाउँमा एक आपसको सहयोग र एकताको भावना पनि बलियो बनाएको छ ।
लगनशील आमा समूहकी अध्यक्ष गीता रोकायाको सक्रिय नेतृत्वमा समूह अझ व्यवस्थित र प्रभावकारी बन्दै गएको स्थानीयको भनाई रहेको छ ।
समूहले महिलाहरुलाई सामाजिक गतिविधिमा सहभागी गराउने, आत्मविश्वास बढाउने र गाउँको विकासमा महिलाको भूमिका मजबुत बनाउने उद्देश्यका साथ नियमित कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
पहिले घरधन्दामै सीमित रहने धेरै महिलाहरु अहिले समूहको बैठकमा नियमित सहभागी हुँदै आफ्ना अधिकार, स्वास्थ्य र सामाजिक उत्तरदायित्वका विषयमा खुला रुपमा छलफल गर्न थालेका छन् ।
यसले उनीहरुमा आत्मविश्वास बढ्नुका साथै निर्णय प्रक्रियामा सहभागी हुने संस्कारको पनि विकास हुँदै गएको छ । स्थानीय अगुवा धन बहादुर बोहराका अनुसार विकट भूगोलका कारण राज्यका सेवा-सुविधा सहज रुपमा नपुग्ने अन्द्राडीमा आमा समूहले सञ्चालन गरेका यस्ता गतिविधिले महिलाहरुमा नयाँ आशा र उत्साह थपेको छ ।
स्वास्थ्य बिमामा आबद्ध हुने संख्या बढ्दै गएको, पोषण र सरसफाइ प्रतिको सचेतना विस्तार भएको तथा बालबालिका र आमाको स्वास्थ्य सुधारमा समेत सकारात्मक प्रभाव देखिन थालेको छ ।
स्थानीय गौमुल सरकार तथा सरोकारवाला निकायले यस्ता आमा समूहलाई आवश्यक तालिम, क्षमता विकास र स्रोत-साधन उपलब्ध गराउन सके विकट गाउँका महिलाहरु अझ आत्मनिर्भर, सशक्त र नेतृत्वदायी बन्ने विश्वास स्थानीयबासीले व्यक्त गरेका छन् ।





प्रतिक्रिया