बाजुरा ःगाैमुल गाउँपालिकामा रहेकाे कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत बाजुराको गौमुल गाउँपालिकाका ६ वटा माध्यमिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण गरेको छ।
दुर्गम तथा पिछडिएका क्षेत्रका विद्यार्थीहरुको शैक्षिक गुणस्तर अभिवृद्धि गर्दै प्रविधिमैत्री शिक्षण-सिकाइ वातावरण निर्माण गर्ने उद्देश्यले स्मार्ट टेलिभिजन प्रदान गरिएको बैंकका प्रबन्धक रोशन चन्दले जानकारी दिए।
उनका अनुसार गौमुल गाउँपालिकाभित्र रहेका कीर्तिचौर माध्यमिक विद्यालय, मानाकोट माध्यमिक विद्यालय, बाल विकास नमूना माध्यमिक विद्यालय, फूल्पाटा माध्यमिक विद्यालय, जनज्योति माध्यमिक विद्यालय र अम्लिस माध्यमिक विद्यालयलाई एक-एक थान स्मार्ट टेलिभिजन वितरण गरिएको हो।
बैंकले प्रदान गरेको स्मार्ट टेलिभिजनबाट विद्यालयहरुमा सूचना तथा सञ्चार प्रविधिमा आधारित शिक्षण प्रणालीलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यसले शिक्षकलाई आधुनिक माध्यमबाट पठनपाठन सञ्चालन गर्न सहज हुने तथा विद्यार्थीहरूको सिकाइ उपलब्धिमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।
कुमारी बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा सामुदायिक विकासका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। यसै अभियानलाई निरन्तरता दिँदै दुर्गम क्षेत्रका विद्यालयमा शैक्षिक सामग्री सहयोग गरिएको बैंकले जनाएको छ।
कीर्तिचौर माध्यमिक विद्यालयका प्रधानाध्यापक मान बहादुर बडुवालले बैंकको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै स्मार्ट टेलिभिजनले कक्षाकोठामा प्रविधिमैत्री शिक्षण अभ्यासलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका छन्।





प्रतिक्रिया