गाैमुल खबर डटकम मङ्गलबार ०६, असोज २०८३ ०२:०९

बुढीगंगामा ‘नगर उपप्रमुख कोसेली कार्यक्रम’ प्रभावकारी : ४९४ गर्भवती र सुत्केरी आमा लाभान्वित

बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, असार २३, २०८३
बुढीगंगामा ‘नगर उपप्रमुख कोसेली कार्यक्रम’ प्रभावकारी : ४९४ गर्भवती र सुत्केरी आमा लाभान्वित

बाजुरा ः बाजुराको बुढीगंगा नगरपालिकाले सञ्चालन गरेको ‘नगर उपप्रमुख कोसेली कार्यक्रम’ गर्भवती र सुत्केरी आमाका लागि प्रभावकारी बन्दै गएको छ।

आमा र नवजात शिशुको स्वास्थ्य सुधार गर्दै कुपोषण न्यूनीकरण गर्ने उद्देश्यले सुरु गरिएको कार्यक्रमबाट विपन्न तथा गरिब परिवारका महिलाले प्रत्यक्ष लाभ लिइरहेका छन्।

नगरपालिकाले आर्थिक वर्ष २०७९/८० देखि वार्षिक बजेट विनियोजन गरी कार्यक्रम सञ्चालन गर्दै आएको हो। सुरुवाती वर्षमा ४ लाख रुपैयाँ बजेटबाट सुरु गरिएको कार्यक्रमका लागि चालु आर्थिक वर्षमा ६ लाख रुपैयाँ बजेट विनियोजन गरिएको नगर उपप्रमुख माया खड्का कुँवर ले जानकारी दिइन्।

कार्यक्रम अन्तर्गत नगरपालिका भित्रका गर्भवती तथा सुत्केरी आमालाई अण्डा, नुन, तेल लगायत पोषणयुक्त खाद्य सामग्री वितरण गरिँदै आएको छ। नगरपालिकाका १० वटै वडामा कार्यक्रम विस्तार भएपछि आमाहरुले समयमै पोषणयुक्त आहार पाउन थालेका छन्।

नगर उपप्रमुख कुँवरका अनुसार यस वर्ष ४९४ जना गर्भवती र सुत्केरी आमा कार्यक्रमबाट लाभान्वित भएका छन्। उनी स्वयं सम्बन्धित वडामा पुगेर कोसेली वितरण गर्दै आएकी छन्।

“निर्वाचित भएकै वर्षदेखि यो कार्यक्रम सुरु गरेका हौँ। गर्भवती र सुत्केरी अवस्थामा पोषणको अभाव हुन नदिन नगरपालिकाले निरन्तर सहयोग गर्दै आएको छ,” उनले भनिन्।

उनले कार्यक्रमको प्रभावकारिता बढाउन आगामी वर्षदेखि वर्षमा एकपटक मात्र होइन, प्रत्येक वडाका स्वास्थ्य संस्था मार्फत गर्भवती र सुत्केरी महिलालाई आवश्यक समयमा नै पोषण सामग्री उपलब्ध गराउने योजना रहेको पनि बताइन्।

नगरपालिकाका अनुसार कार्यक्रम सञ्चालनपछि विगतको तुलनामा आमा तथा बालबालिकामा देखिने कुपोषणको दर घट्दै गएको प्रारम्भिक तथ्यांकले देखाएको छ। स्थानीयले पनि कार्यक्रमले आर्थिक रुपमा कमजोर परिवारलाई ठूलो राहत पुगेको बताएका छन्।

गर्भवती र सुत्केरी महिलाको पोषणमा स्थानीय सरकारको प्रत्यक्ष लगानीले मातृ तथा शिशु स्वास्थ्य सुधारमा सकारात्मक प्रभाव पारिरहेको भन्दै बुढीगंगा नगरपालिकाको यो कार्यक्रम जिल्लामै नमुना बन्दै गएको सरोकारवालाले बताएका छन्।

प्रतिक्रिया