गाैमुल खबर डटकम शनिबार २३, साउन २०८३ १२:२४

मार्तडी-कोल्टी सडकमा ठेकेदारको चरम लापरबाही : २० करोड बजेट फ्रिज, २६ वर्षदेखि सडक अधुरै

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, असार १७, २०८३
मार्तडी-कोल्टी सडकमा ठेकेदारको चरम लापरबाही : २० करोड बजेट फ्रिज, २६ वर्षदेखि सडक अधुरै

बाजुरा ः बाजुराको बहुप्रतीक्षित मार्तडी-कोल्टी सडक अन्तर्गत ढम्कने-कोल्टी खण्डको कालोपत्रे निर्माण कार्य ठेकेदार कम्पनीको लापरबाहीका कारण पुनः अलपत्र परेको छ । निर्माण कम्पनीले सम्झौता अनुसार काम नगर्दा चालु आर्थिक वर्षका लागि विनियोजित करिब २० करोड रुपैयाँ बजेट फिर्ता (फ्रिज) हुने अवस्थामा पुगेको छ ।

पूर्वाधार विकास कार्यालय अछामका प्रमुख जंगबहादुर थापाका अनुसार निर्माण कम्पनीले पटक-पटकको ताकेता र म्याद थपपछि पनि काम अघि नबढाएपछि कार्यालयले बैंकमा रहेको ३ करोड ६ लाख रुपैयाँ धरौटी जफत गरिसकेको छ । साथै बाँकी १२ करोड रुपैयाँ असुलीका लागि नेपाल राष्ट्र बैंकलाई पत्राचार गरिएको उनले जानकारी दिएका छन् ।

ढम्कने-कोल्टी सडक कालोपत्रेको जिम्मा पाएको पीएस बानियाँ निर्माण सेवाले आर्थिक वर्षको अन्त्यसम्म पनि निर्माण कार्यलाई गति नदिएपछि विनियोजित बजेट खर्च हुन नसकी फिर्ता हुन लागेको हो । कार्यालयका अनुसार यो पहिलो पटक भने होइन । अघिल्ला वर्षहरुमा पनि निर्माण कम्पनीको ढिला सुस्तीका कारण बजेट फिर्ता हुँदै आएको छ ।

गत आर्थिक वर्षमा उक्त सडकका लागि विनियोजित १५ करोड रुपैयाँ मध्ये १३ करोड ५० लाख रुपैयाँ भन्दा बढी खर्च हुन नसकी फिर्ता गएको थियो । आर्थिक वर्ष २०७६/०७७ मा चुथीदेखि कोल्टीसम्म २६ किलोमिटर सडक कालोपत्रे गर्ने गरी ५० करोड १७ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि समयमै काम सम्पन्न नभएपछि कार्यालयले पटक-पटक म्याद थप गरेको थियो । तर म्याद थपिएपछि पनि निर्माण कम्पनीले प्रभावकारी रुपमा काम सुरु नगरेको कार्यालयको भनाइ छ । पूर्वाधार विकास कार्यालयले सुरुमा २६ किलोमिटर सडक कालोपत्रेका लागि ९८ करोड रुपैयाँको टेन्डर आह्वान गरेको थियो ।

प्रतिस्पर्धाबाट पीएस बानियाँ निर्माण सेवाले ५० करोड १७ लाख रुपैयाँमा ठेक्का प्राप्त गरेको थियो । हालसम्म उक्त सडकको करिब ५० प्रतिशत मात्र काम सम्पन्न भएको छ । स्थानीयबासी रणबहादुर बोहराका अनुसार निर्माण कार्यमा भइरहेको ढिलाइका कारण वर्षायाममा मार्तडी-कोल्टी सडक पटक–पटक अवरुद्ध हुने गरेको छ, जसले स्थानीय नागरिकलाई सास्ती भोग्नुपरेको छ ।

केही महिनाअघि पूर्वाधार विकास कार्यालय अछामले ठेक्का सम्झौता रद्द गर्ने सम्बन्धमा १५ दिने सार्वजनिक सूचना जारी गरेको थियो । ठेक्का नतोडिनुपर्ने कुनै कारण भए कार्यालयमा सम्पर्क गर्न निर्माण कम्पनीलाई आग्रह गरिएको भएपनि तोकिएको अवधिभित्र कम्पनी सम्पर्कमा नआएको कार्यालयले जनाएको छ ।

सडक निर्माणको जिम्मा पाएको पीएस बानियाँ निर्माण सेवा नेपाली काँग्रेसका नेता तथा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसँग सम्बन्धित कम्पनी हो । मार्तडी-कोल्टी सडकको कुल लम्बाइ ४१ किलोमिटर रहेको छ । यो सडक प्रदेश सरकारको बहुवर्षीय योजना अन्तर्गत निर्माण भइरहेको हो ।

यसमध्ये मार्तडीदेखि ढम्कनेसम्म १५ किलोमिटर सडक कालोपत्रेका लागि ५८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।  पहिलो खण्ड मार्तडी-चुथी (९ किलोमिटर) मा अधिकांश काम सम्पन्न भए पनि चुथी-ढम्कने (६ किलोमिटर) मा अझै उल्लेख्य काम बाँकी छ ।

यो आयोजना ५० प्रतिशत संघ र ५० प्रतिशत प्रदेश सरकारको समपूरक अनुदानबाट सञ्चालन भइरहेको छ । वि.सं. २०५६ फागुन ७ गते तत्कालीन जिल्ला सभापति लालबहादुर थापाले शिलान्यास गरेको मार्तडी-कोल्टी सडक २०६० सालभित्र कोल्टीसम्म सवारी सञ्चालन गर्ने लक्ष्य राखिएको थियो ।

तर निर्माण सुरु भएको २६ वर्ष बितिसक्दा पनि सडकले पूर्णता पाउन नसक्दा स्थानीयबासीले अझै पनि सहज यातायात सेवाबाट बञ्चित हुनुपरेको छ ।

प्रतिक्रिया