गाैमुल खबर डटकम बुधबार २४, भदौ २०८३ १२:२७

हरेक महिनाको १५ गते मार्तडी बजार बन्द हुने

बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, असार १४, २०८३
हरेक महिनाको १५ गते मार्तडी बजार बन्द हुने

बाजुरा ःबाजुराको सदरमुकाम मार्तडी बजार अब हरेक महिनाको १५ गते पूर्ण रुपमा बन्द हुने भएको छ । बजारलाई स्वच्छ, सफा र हरित बनाउने उद्देश्यले मार्तडी बजार व्यवस्थापन समितिले प्रत्येक महिनाको १५ गते नियमित सरसफाइ अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

समितिको २०८३ साल जेठ ३० गते बसेको बैठकले उक्त निर्णय गरेको जनाएको छ । निर्णय अनुसार प्रत्येक महिनाको १५ गते औषधि, तरकारी तथा फलफूल पसल बाहेक अन्य सबै व्यापार-व्यवसाय बन्द रहनेछन् । सो दिन सम्पूर्ण व्यवसायी तथा सरोकारवालालाई सरसफाइ अभियानमा अनिवार्य रुपमा सहभागी हुन आग्रह गरिएको छ ।


बजार व्यवस्थापन समितिले यो अभियानलाई सफल बनाउन सबै व्यवसायी, स्थानीयबासी तथा सम्बन्धित निकायसँग सहयोगको अपिल गरेको छ । समितिका अनुसार सरसफाइलाई नियमित र प्रभावकारी बनाउँदै मार्तडी बजारलाई सफा, व्यवस्थित र वातावरणमैत्री बजारका रुपमा विकास गर्ने लक्ष्य राखिएको छ ।

निर्णयको अवज्ञा गर्दै बजार सञ्चालन गर्ने व्यक्ति वा व्यवसायीलाई जनही पाँच हजार रुपैयाँ जरिवाना गरिने समितिले चेतावनी दिएको छ । यस्तै, सरसफाइ अभियानमा सहभागी नहुने व्यवसायीलाई पाँच सय रुपैयाँ जरिवाना गरिने पनि निर्णयमा उल्लेख गरिएको छ ।

समितिले सबै व्यवसायी तथा नागरिकलाई अभियानलाई साझा जिम्मेवारीका रुपमा लिएर मार्तडी बजारलाई स्वच्छ, सफा र हरित बनाउने अभियानमा सक्रिय सहभागिता जनाउन अनुरोध गरेको छ ।
 

प्रतिक्रिया