बाजुरा ःकृषि उत्पादन वृद्धि, स्थानीय उद्यम प्रवर्द्धन, रोजगारी सिर्जना तथा नागरिकको आयआर्जन बढाउने लक्ष्यसहित जगन्नाथ गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८३/८४ का लागि रु ३८ करोड ६३ लाख १ हजार बराबरको बजेट पारित गरेको छ।
गाउँपालिकाको १८औँ गाउँसभामा अध्यक्ष काली बहादुर शाहीले प्रस्तुत गर्नुभएको बजेट सर्वसम्मत रूपमा पारित भएको हो। पारित बजेटमध्ये चालुतर्फ रु २३ करोड ६८ लाख १० हजार ५ सय र पुँजीगततर्फ रु १४ करोड ९४ लाख ९० हजार ५ सय विनियोजन गरिएको छ।
गाउँपालिकाले आगामी वर्षको बजेटमार्फत कृषि उत्पादन वृद्धि, स्थानीय उद्यम विकास, शिक्षा सुधार, स्वास्थ्य सेवा विस्तार तथा पूर्वाधार निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको जनाएको छ।
नीति तथा कार्यक्रमअनुसार स्थानीय उत्पादनको बजारीकरण, स्वरोजगारका अवसर सिर्जना, शैक्षिक गुणस्तर अभिवृद्धि, स्वास्थ्य सेवामा सहज पहुँच तथा आधारभूत पूर्वाधार विकासका कार्यक्रम सञ्चालन गरिनेछ।
क्षेत्रगत बजेट विनियोजनअनुसार आर्थिक विकासतर्फ रु ४ करोड १० लाख, सामाजिक विकासतर्फ रु ११ करोड १२ लाख ६८ हजार, पूर्वाधार विकासतर्फ रु ४ करोड १८ लाख ३२ हजार ५ सय, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ रु १५ लाख तथा कार्यालय सञ्चालन तथा प्रशासनतर्फ रु १७ करोड ४७ लाख १० हजार ५ सय बजेट विनियोजन गरिएको छ।
गाउँसभामा सहभागी सदस्यहरूले बजेटलाई जनमुखी, व्यवहारिक तथा विकासमुखी भएको प्रतिक्रिया दिएका छन्। विशेषगरी कृषि उत्पादन वृद्धि र आयआर्जन विस्तारलाई केन्द्रमा राखिएको कार्यक्रमले स्थानीय नागरिकको जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।
गाउँसभाको सञ्चालन लक्ष्मण जोशीले गर्नुभएको थियो। सभा समापन गर्दै अध्यक्ष शाहीले पारित बजेट तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमार्फत नागरिकले प्रत्यक्ष अनुभूति गर्ने विकास र सेवा प्रवाह सुनिश्चित गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।





प्रतिक्रिया