गाैमुल खबर डटकम शनिबार २३, साउन २०८३ ०१:३६

विकट बस्तीका नागरिकलाई न्याय दिन गौमुलले अघि सार्यो नयाँ वडा गठनको प्रस्ताव

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, असार १०, २०८३
विकट बस्तीका नागरिकलाई न्याय दिन गौमुलले अघि सार्यो नयाँ वडा गठनको प्रस्ताव

बाजुरा ः गौमुल गाउँपालिकाले दुर्गम बस्तीका नागरिकलाई सहज र प्रभावकारी सेवा प्रवाह गर्ने उद्देश्यले नयाँ वडा थप्ने ऐतिहासिक निर्णय गरेको छ ।

गाउँपालिकाको दोस्रो गाउँसभाको नवौं अधिवेशनले वडा नम्बर १ अन्तर्गतको अन्द्राडी तथा वडा नम्बर २ अन्तर्गतका पौदाली र मल्दुगुन क्षेत्रलाई समेटेर नयाँ वडा गठनका लागि प्रस्ताव अघि बढाउने निर्णय सर्वसम्मत रूपमा पारित गरेको हो ।

गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाका अनुसार भौगोलिक रुपमा अत्यन्त विकट रहेका यी बस्तीका नागरिकले स्थानीय तहका सेवा लिन लामो दूरी पार गर्नुपर्ने बाध्यता रहेको छ ।

सोही समस्यालाई सम्बोधन गर्दै जनतालाई आफ्नै नजिकबाट सेवा उपलब्ध गराउने उद्देश्यले नयाँ वडा थप्ने प्रस्ताव गाउँसभाबाट सर्वसम्मत रुपमा पारित गरिएको हो ।

“अन्द्राडी, पौदाली र मल्दुगुनका बासिन्दालाई न्याय हुने गरी नयाँ वडा गठनको प्रक्रिया अघि बढाउने निर्णय गाउँसभाले गरेको छ,” अध्यक्ष रोकायाले भने, “अब आवश्यक कानुनी प्रक्रिया पूरा गरी प्रदेश सरकार र संघीय सरकार समक्ष प्रस्ताव पेश गरिनेछ ।”

गाउँसभाले दुर्गम भूगोल, जनसंख्या वितरण, सेवा पहुँच तथा प्रशासनिक सहजतालाई आधार मानेर नयाँ वडा आवश्यक रहेको निष्कर्ष निकालेको जनाएको छ ।

नयाँ वडा गठन भएमा ती क्षेत्रका नागरिकले नागरिकता सिफारिस, सामाजिक सुरक्षा, योजना तथा अन्य स्थानीय सरकारका सेवाहरू सहज रूपमा प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ ।

गाउँपालिकाका जनप्रतिनिधिहरूले यो निर्णयले स्थानीय सरकारप्रति नागरिकको पहुँच अझ प्रभावकारी बन्ने, विकास निर्माणका कार्यक्रमहरू थप व्यवस्थित हुने तथा दुर्गम बस्तीका नागरिकले राज्यको अनुभूति नजिकबाट गर्न पाउने विश्वास व्यक्त गरेका छन् ।

गाउँसभाबाट पारित निर्णय अनुसार अब विस्तृत अध्ययन तथा आवश्यक कागजी प्रक्रिया पूरा गरी प्रदेश तथा संघीय सरकार समक्ष औपचारिक प्रस्ताव पठाइनेछ ।
 

प्रतिक्रिया