बाजुरा ःगौमुल गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रमलाई गाउँको वास्तविक आवश्यकता, जनताको अपेक्षा र सीमित स्रोत-साधनको अधिकतम उपयोगमा केन्द्रित गर्दै अन्तिम तयारीलाई तीव्र बनाएको छ ।
गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार भएकाले आगामी बजेट जनताको आवश्यकता र चाहनालाई केन्द्रमा राखेर तयार पारिएको बताएका छन् ।
उनले बुधबार असार १० गते बस्ने गाउँसभा मार्फत विकास, समृद्धि र सुशासनको नयाँ मार्गचित्र सार्वजनिक गरिने जानकारी दिएका छन् ।
अध्यक्ष रोकायाका अनुसार कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, रोजगार तथा पूर्वाधार विकास लगायतका क्षेत्रलाई प्राथमिकतामा राख्दै उपलब्ध स्रोत र बजेटको न्यायोचित वितरण गर्ने गरी योजना तर्जुमा गरिएको छ ।
“सीमित स्रोत भएपनि जनताको अपेक्षा सम्बोधन गर्ने प्रयास गरेका छौँ । बजेटलाई परिणाममुखी, जनउत्तरदायी र व्यवहारिक बनाउने दिशामा काम भइरहेको छ,” उनले बताएका छन् ।
यसैबीच गाउँपालिका उपाध्यक्ष सीता थापाले मंगलबार विषयगत समितिहरुमा बजेट तथा कार्यक्रमका विषयमा दफाबार रुपमा व्यापक छलफल गरिएको बताइन् ।
उनले विभिन्न क्षेत्रबाट प्राप्त सुझाव, आवश्यकता र प्राथमिकतालाई समेटेर अन्तिम रुप दिने काम भइरहेको जानकारी दिइन् ।
उपाध्यक्ष थापाका अनुसार गाउँपालिकाले विकासका योजनालाई केवल कागजमा सीमित नराखी जनजीवनमा प्रत्यक्ष प्रभाव पार्ने कार्यक्रमलाई प्राथमिकता दिने नीति अवलम्बन गरेको छ ।
“जनताको अपेक्षा, गाउँको आवश्यकता र उपलब्ध स्रोतबीच सन्तुलन कायम गर्दै बजेट निर्माण भइरहेको छ,” उनले भनिन् । गाउँपालिकाले आगामी बजेट मार्फत उत्पादन वृद्धि, रोजगारी सिर्जना, आधारभूत सेवाको पहुँच विस्तार तथा समग्र जीवनस्तर उकास्ने लक्ष्य लिएको जनाएको छ ।
स्थानीयबासीले समेत गाउँको आवश्यकता अनुसार बजेट आउनुपर्ने अपेक्षा व्यक्त गरिरहेका बेला गौमुल गाउँपालिकाले जनभावना अनुसारको बजेट ल्याउने तयारी गरेको जनाएको छ ।
स्थानीय सरकार प्रति नागरिकको विश्वास थप मजबुत बनाउने गरी तयार पारिएको बजेट तथा नीति-कार्यक्रम बुधबार असार १० गतेको गाउँसभाबाट सार्वजनिक हुने भएपछि गौमुलबासीको चासो र अपेक्षा बढेको छ ।





प्रतिक्रिया