बाजुरा ः बाजुराको गौमुल गाउँपालिका-३ मा सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार तथा विद्यालय दिवा खाजा कार्यक्रमलाई प्रभावकारी र व्यवस्थित बनाउने विषयमा बृहत् छलफल कार्यक्रम सम्पन्न भएको छ।
वडा कार्यालयको आयोजनामा भएको कार्यक्रममा वडाभित्र रहेका सम्पूर्ण विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, प्रधानाध्यापक, अभिभावक तथा जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो।
कार्यक्रममा सामुदायिक विद्यालयहरुको शैक्षिक अवस्था सुधार, विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि तथा विद्यालय दिवा खाजा कार्यक्रमलाई थप प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल गरिएको थियो।
छलफलका क्रममा स्वस्थ बालबालिका, समृद्ध किसान र आत्मनिर्भर गाउँ निर्माणका लागि विद्यालय दिवा खाजा कार्यक्रममा स्थानीय उत्पादनको प्रयोगलाई प्राथमिकता दिनुपर्नेमा सहभागीहरुले जोड दिएका थिए।
स्थानीय स्तरमा उत्पादन हुने कृषि उपजको प्रयोगले बालबालिकालाई पौष्टिक आहार उपलब्ध गराउनुका साथै स्थानीय किसानको आय आर्जनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरिएको थियो।
वडा अध्यक्ष गोरख बोहराले “स्थानीय उत्पादन हाम्रो पहिचान, पौष्टिक दिवा खाजा बालबालिकाको मुस्कान” भन्ने नारालाई व्यवहारमा उतार्दै विद्यालय दिवा खाजा कार्यक्रममा स्थानीय उत्पादनको प्रयोग सुनिश्चित गर्ने गरी छलफल तथा सहमति भएको जानकारी दिए।
उनले शैक्षिक गुणस्तर अभिवृद्धिसँगै स्थानीय उत्पादनको प्रवर्द्धन मार्फत आत्मनिर्भर गाउँ निर्माणको लक्ष्य हासिल गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको बताए।





प्रतिक्रिया