बाजुरा ःबाजुराको गौमुल गाउँपालिकास्थित धार्मिक तथा प्राकृतिक महत्व बोकेको डडुल्ले देवी माई क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यले पहिलो भेला आयोजना गरिने भएको छ ।
“पर्यटनको विकास, समृद्ध गौमुलको आधार” भन्ने मूल नारा सहित गौमुल गाउँपालिकाका वडा नम्बर ३, ४, ५ र ६ का जनप्रतिनिधिहरुको संयुक्त पहलमा जेठ ३० गते देवभूमि डडुल्लेमा पहिलो भेला आयोजना हुन लागेको हो ।
भेला मार्फत डडुल्ले देवी माई क्षेत्रको धार्मिक, सांस्कृतिक तथा प्राकृतिक महत्वको प्रचारप्रसार गर्दै यस क्षेत्रलाई पर्यटनको माध्यमबाट स्थानीय आय आर्जन र रोजगारीसँग जोड्ने विषयमा व्यापक छलफल गरिने भएको छ ।
गौमुल गाउँपालिका-४ का वडा अध्यक्ष अमर विकले डडुल्ले क्षेत्र केवल आस्थाको केन्द्र मात्र नभई गौमुलको समृद्धिसँग जोडिएको महत्वपूर्ण सम्पत्ति भएको बताएका छन् ।
उनले स्थानीय संस्कृति, सभ्यता, परम्परा र प्राकृतिक सौन्दर्यको संरक्षण गर्दै पर्यटन विकास मार्फत गाउँको आर्थिक अवस्था सुधार गर्ने साझा लक्ष्यका साथ भेला आयोजना गरिएको गौमुल मिडिया हाउस प्रा.लि.तथा गौमुल खबर डटकमसंग बताएका छन् ।
भेलामा जनप्रतिनिधि, स्थानीय अगुवा, बुद्धिजीवी तथा सरोकारवालाहरुको सहभागिता रहने अपेक्षा गरिएको छ । सहभागीहरुले डडुल्ले क्षेत्रको संरक्षण, पूर्वाधार विकास, प्रचारप्रसार तथा दीर्घकालीन पर्यटन विकासका सम्भावनाबारे आफ्नो धारणा राख्नेछन् ।
स्थानीयबासीहरुले पनि यस भेलाले गौमुलको पहिचान स्थापित गर्न, ओझेलमा परेका धार्मिक तथा सांस्कृतिक सम्पदालाई उजागर गर्न र भावी पुस्ताका लागि सम्भावनाको नयाँ ढोका खोल्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।






प्रतिक्रिया