गाैमुल खबर डटकम शनिबार २३, साउन २०८३ ०३:०८

रानीसैन घटनाका आरोपित तत्काल पक्राउ गर्न अल्टिमेटम, माग सम्बोधन नभए कर्णाली करिडोर बन्द गर्ने चेतावनी

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, जेठ २७, २०८३
रानीसैन घटनाका आरोपित तत्काल पक्राउ गर्न अल्टिमेटम, माग सम्बोधन नभए कर्णाली करिडोर बन्द गर्ने चेतावनी

बाजुरा ःबाजुराको हिमाली गाउँपालिका-३ स्थित रानीसैन लाम्पाटामा भएको कुटपिट, आगजनी तथा दुव्र्यवहार घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गर्न पीडित पक्षले माग गरेको छ ।

रानीसैन संघर्ष समितिको नेतृत्वमा पीडित तथा स्थानीयबासीहरुले बुधबार सदरमुकाम मार्तडीमा विरोध प्रदर्शन गर्दै जेठ ३ र ५ गते भएको घटनाका दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन प्रशासनलाई अल्टिमेटम दिएका हुन् ।

घटनामा संलग्न २३ जना विरुद्ध मुद्दा दर्ता भई पक्राउ पुर्जी जारी भएको एक साताभन्दा बढी समय बितिसक्दा पनि कसैलाई पक्राउ नगरिएको भन्दै उनीहरुले आक्रोश व्यक्त गरेका छन् । प्रदर्शनकारीहरुले मार्तडी बजार बन्द गराउँदै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका थिए । उनीहरुले प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला मार्फत सरकारलाई ज्ञापनपत्र समेत बुझाएका छन् ।

संघर्ष समितिले हुम्लाको खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्णबहादुर रावल, वडा नं. २ का अध्यक्ष चन्द्र रावल तथा थलावन उपभोक्ता समूहका अध्यक्ष देवराज रावल सहितका व्यक्तिहरुको निर्देशनमा हिमाली गाउँपालिका-३ का वडा सदस्य पेमा गारा गुरुङ लगायत स्थानीय माथि ज्यान जोखिममा पार्ने गरी कुटपिट तथा बन्धक बनाइएको आरोप लगाएको छ ।

ज्ञापनपत्रमा घटनास्थलमा पुगेका हिमाली गाउँपालिका-३ का वडा अध्यक्ष मंगलबहादुर बुढा, स्थानीयबासी तथा सुरक्षाकर्मीको उपस्थितिमा बन्धक बनाइएका व्यक्तिहरुको उद्धार गर्ने क्रममा पुनः लाठी, ढुंगा तथा घरेलु हतियार प्रयोग गरी सामूहिक आक्रमण गरिएको उल्लेख गरिएको छ ।

त्यसैगरी, हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्ल तथा धनगढी उपमहानगरपालिकाका प्रमुख गोपी हमाल सहितको टोली घटनास्थलतर्फ जाँदा बाटो अवरुद्ध गरी पुग्न नदिने प्रयास भएको र टोली माथि समेत आक्रमण गरिएको दाबी गरिएको छ ।

समितिले घटनापछि रानीसैन क्षेत्रमा बसोबास गर्दै आएका भोटे समुदायमाथि दुव्र्यवहार गरिएको, भेडीगोठमा आगजनी गरिएको, सरसामान तोडफोड तथा लुटपाट भएको र दर्जनौं परिवार विस्थापित भएको जनाएको छ ।

यस्ता गतिविधिले शान्ति सुरक्षा, कानुनी शासन, मानवअधिकार तथा नागरिकको जिउधनको सुरक्षामाथि गम्भीर चुनौती सिर्जना गरेको भन्दै निष्पक्ष छानबिन गरी पीडितलाई न्याय दिलाउन प्रशासनसँग माग गरिएको छ ।

संघर्ष समितिले दोषीहरुको तत्काल गिरफ्तारी, लाम्पाटा-च्याँचौर क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको स्थायी सुरक्षा चौकी स्थापना, विस्थापित परिवारको सुरक्षित पुनःस्थापना, क्षतिको उचित क्षतिपूर्ति तथा घाइतेहरुको उपचार व्यवस्था सहित उपचार खर्च दोषी पक्षबाट असुल गर्न सम्बन्धित निकायसँग माग गरेको छ ।

त्यस्तै जिल्ला प्रशासन कार्यालयको समन्वयमा नापी, वन तथा भूमि प्रशासन कार्यालय लगायत सम्बन्धित निकायबाट लाम्पाटा, च्याँचौर र रानीसैन क्षेत्रको वास्तविक सिमाना, नक्सा तथा प्रमाण सार्वजनिक गर्न पनि माग गरिएको छ । मागहरु तत्काल सम्बोधन नभए बुधबारदेखि नै कर्णाली करिडोर सडकखण्ड अनिश्चितकालका लागि बन्द गर्ने चेतावनी संघर्ष समितिले दिएको छ ।

उता, जिल्ला प्रशासन कार्यालय बाजुरामा बुधबार बसेको सर्वदलीय बैठकले रानीसैन घटनामा संलग्न व्यक्तिहरुलाई तत्काल पक्राउ गर्न संघीय सरकार समक्ष अनुरोध गर्ने तथा पक्राउ प्रक्रियामा गम्भीरतापूर्वक अघि बढ्न हुम्ला प्रशासनलाई आग्रह गर्ने निर्णय समेत गरेको छ ।

बैठकमा सहभागी राजनीतिक दल, जनप्रतिनिधि तथा सरोकारवालाहरुले पक्राउ पुर्जी जारी भएका व्यक्तिहरुलाई शीघ्र पक्राउ नगरे राजमार्ग अवरोध लगायतका थप आन्दोलनका कार्यक्रम सञ्चालन गर्न बाध्य हुने चेतावनी सुरक्षा निकायलाई दिएका छन् ।
 

प्रतिक्रिया