बाजुरा ःहिमाली गाउँपालिका-३ अन्तर्गत रानीसैन क्षेत्रको सुरक्षा, संरक्षण तथा स्थानीय नागरिकको सुरक्षालाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरी अस्थायी रूपमा सीमा सुरक्षा चौकी (बिओपी) र प्रहरी चौकी स्थापना गरिने भएको छ ।
गत जेठ ३ गते बाजुराको रानीसैनको लाम्पाटा क्षेत्रमा हुम्लाका केही स्थानीयले वडा सदस्य पेमागारा गुरुङ सहित अन्य व्यक्ति माथि कुटपिट गरी तीन दिनसम्म बन्धक बनाएको तथा स्थानीयमाथि दुव्र्यवहार भएको घटना सार्वजनिक भएपछि उक्त क्षेत्रमा सुरक्षा उपस्थिति बढाउने निर्णय गरिएको हो ।
गृह मन्त्रालयमा सचिवस्तरमा भएको बैठकको निर्णय अनुसार रानीसैनको लाम्पाटामा अस्थायी ‘बिओपी’ र प्रहरी चौकी स्थापना गर्न लागिएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिएका छन् । उनका अनुसार विवादित क्षेत्रको सुरक्षा सुदृढ गर्दै स्थानीयबासीमा सुरक्षाको प्रत्याभूति दिलाउन यो निर्णय गरिएको हो ।
निर्णय कार्यान्वयनका लागि सशस्त्र प्रहरी बलका निरीक्षक जनक पौडेलको नेतृत्वमा २१ जना तथा नेपाल प्रहरीका एक प्रहरी सहायक निरीक्षकको नेतृत्वमा ७ जनाको टोली हिमाली गाउँपालिका पठाइएको छ । उक्त टोलीले तत्काल अस्थायी सुरक्षा संरचना स्थापना गरी सुरक्षा निगरानी सुरु गर्ने जनाइएको छ ।
जेठ ३ गते भएको घटनामा हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापा, वडा नं. ३ का सदस्य पेमागारा गुरुङ, उनकी श्रीमती लक्ष्मी गुरुङ, स्थानीय मीनु कुँवर तथा प्रहरी चौकी विच्छ्यामा कार्यरत प्रहरी सहायक हवल्दार महेश धामी घाइते भएका थिए ।
रानीसैन क्षेत्रको स्वामित्व, उपयोग तथा स्थानीयबासी माथि भएको घटनालाई लिएर बाजुरा र हुम्लाबीच चासो बढिरहेका बेला सरकारले सुरक्षा व्यवस्थापनलाई प्राथमिकता दिँदै स्थलगत उपस्थिति बढाएको हो ।





प्रतिक्रिया